भद्रपुरको कोल्ड स्टोरेज सञ्चालनमा आउन सकेन

भद्रपुरको कोल्ड स्टोरेज सञ्चालनमा आउन सकेन

झापा : नगर क्षेत्रका कृषिजन्य व्यवसायीलाई लक्षित गरी जनप्रतिनिधिविहीन भएको बेलामा ठेक्का लागेको भद्रपुरको कोल्ड स्टोरेज (शीतभण्डार) जनप्रतिनिधि आए पनि अझै सञ्चालनमा आउन सकेको छैन।

१५ महिनामा बन्ने कोल्ड स्टोरेज १४० महिना बित्न लाग्दासमेत भद्रपुर नगरपालिका लाचार देखिएको छ। भारत सरकारको नेपालस्थित भारतीय दूतावासले झापाको सदरमुकाम भद्रपुर नगरमा कोल्ड स्टोरेज बनाउनका लागि बजेट छुट्ट्याएका थिए। त्यसपछि भद्रपुर नगरपालिकाले टेन्डर आह्वान गरी ठेक्का प्रक्रियामार्फत कोल्ड स्टोरेज बनाउने प्रक्रिया अघि बढाएको थियो।

कुल ४ करोड ७८ लाख ७३ हजार २ सय ५८ रुपैयाँ ९० पैसाको लागत इस्टिमेटमा सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनी काठमाडौंले ४ करोड १३ लाख ३७ हजार ३ सय ७४ रुपैयाँ ९६ पैसा (भ्याटसहित)मा १५ महिनामा काम सम्पन्न गर्ने गरी नगरपालिकासँग सम्झौता गरेको थियो। सम्झौताअनुसार निर्माण कम्पनीले सन् २०१० डिसेम्बर ३० अर्थात् २०६७ पूस १५ गते काम सुरु गरेको थियो। 

कम्पनीले १५ महिना २९ मार्च २०१२ मा अर्थात् २०६८ चैत्र १६ गतेसम्ममा काम सम्पन्न गर्नुपर्ने हो। तर, निर्माण व्यवसायी, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको चरम लापरबाहीले कोल्ड स्टोरेज अहिलेसम्म सञ्चालनमा आउन नसकेको स्थानीयले गुनासो गरेका छन्। स्टोरेजको काम सुरु भएदेखि नगरपालिकामा ८ जना प्रमुख प्रशासकीय अधिकृत फेरबदल भइसकेका छन्।