कृषकलाई क्षमता विकास तालिम

कृषकलाई क्षमता विकास तालिम

इलामः इलामको इलाम नगरपालिका वाड नम्बर ८ मा तीन दिने आधारभुत तरकारी खेती तालिम सम्पन्न भएको छ ।
कृषकलाई व्यवसायीक खेती प्रति उत्पेरित गर्ने उदेश्यले सञ्चालन गरेको तालिममा वडा क्षेत्रका चालसि जना कृषक सहभागि थिए ।
इलाम नगरपालिका वाड न ८ को आर्थिक सहयोग र शेर्पा मल्टि ट्रेनिङ्ग सेन्टर इलामको आयोजनामा भएको तालिमको समापनको अवसरमा वडा अध्यक्ष दलमान तामाङले वडाको लक्ष अनुसार कृषकलाई दक्ष बनाउनका लागि तालिमको आयोजना गरेको बताए । उनले किसानका सिंचाई सहित आधारभुत आवश्यकता समाधान गर्न वडाले पहल गरिरहेको जानकारी दिए ।
वडा अध्यक्ष तामाङको सभापतित्वमा भएको तालिम समापनको अवसरमा वडा सदस्य रमेश बुढाथोकी, सहभागि सरु ओझा, कनक अधिकारी र निर्वतमान वडा सदस्य डिपी दुलालले मन्तव्य राखेका थिए ।


तालिममा माटो परिक्षण, माटोको उपचार, विउ छनौट, तरकारी खेती प्रविधि, रोग किरा प्रकोप नियन्त्रणका विषयमा प्रशिक्षण गरिएको थियो । तालिममका क्रममा सहभागि कृषकको माटोको पिएच पनि परिक्षण गरेको थियो ।