सूर्योदयमा सडक महोत्सव

सूर्योदयमा सडक महोत्सव

इलाम:सिथिल भएको पर्यटन, व्यपार र उद्योग व्यवसाय चलायमान बनाउने उदेश्यले इलामको सूर्योदय नगरपालिकामा चौथो सूर्योदय सडक महोत्सव आइतबार फिक्कलमा शुरु भएको छ ।
मेची राजमार्गको फिक्कल बजार खण्डमा लागेको महोत्सवमा स्थानीय दुग्ध, कृषि र घरेलु उद्योगमा उत्पादन गरेका कपडा, पुस्प स्टलहरु राखिएका छन् । पुष्प, खानाका परिकार देखि विद्युतीय सामग्री समेत स्टलमा देख्न पाईन्छ । महोत्सवमा ४० स्टल रहेको आयोजक सस्थाका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।


सूर्योदय होटल व्यवसायी संघ , आयाम युनाइटेड क्लब फिक्कल र सूर्योदय जेसीजको आयोजनामा शुरु भएको दुई दिने महोत्सव उद्घाटन गर्दै कोशी प्रदेश सभा सदस्य खगेश्वरी पौड्याल अधिकारीले कृषि, पर्यटन, उद्योग व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधानका आफ्नु तर्फबाट पुर्ण रुपमा पहल हुने बताइन् । ‘कृषि र पर्यटनको सम्भावना रहेको यस क्षेत्रमा प्रभावकारी योजनाहरु ल्याउन पहल जारी छ । प्रदेश सभा सदस्य पौड्यालले भनिन् ‘रचनात्मक कामहरुमा म सधै तपाईहरुसंगै रहने छु ।’ उनले यस्ता कार्यक्रमले सिथिल बन्दै गएको उद्योग व्यवसायलाई चलायमान बनाउन सहयोग पुग्ने बताइन् ।
आयोजक समितिका अध्यक्ष अभिषेक श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख चित्रकला बराईली, होटल एसोसीएस कोशी प्रदेश सह कोषध्यक्ष राजन प्रधान, वडा नं ९ का वडाध्यक्ष देवेन्द्र आचार्य,१० नं. का वडाध्यक्ष पेमा उगेन लामा ,सूर्योदय होटल ब्यवसायी संघका सचिव युवराज प्रधान लगायतले बोलेका थिए ।
महोत्सवमा गायन र नृत्यका कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सवमा ४० लाख खर्च हुने आयोजकको अनुमान छ ।