गोर्खे (इलाम): सूर्योदय नगरपालिका–१ कमिरे टोलकी रिता राईको अरु बैंकमा बैंक एकाउन्ट छैन । उनको एउटा मात्रै खाता आफै शेयर सदस्य रहेको सहकारीमा मात्रै छ । त्यो खातामा मासिक एक हजारको हाराहारीमा बचत गर्दछिन् । त्यहीबाट कर्जा लिएर अर्गानिक तरकारी खेती गरिरहेकी छन् ।
रिता मात्रै हैन उनी जस्तै कहिल्यै आफ्नो नाममा बैंक खाता नखोलेका, सानो–सानो बचत गर्न पनि कठिन मान्ने धेरै ग्रामीण महिलाहरू आज आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । यसको पछाडि एउटा साझा आधार बनेको छ– एञ्जेलिया महिला कृषि सहकारी संस्था लिमिटेड ।
वि.सं. २०६७ सालमा स्थापना भएको यस सहकारीमा अहिले सूर्योदय नगरपालिका–१ का १८१ भन्दा बढी महिला आबद्ध छन् । सुरुका दिनमा केही महिलाले थोरै रकम बचत गर्दै आत्मनिर्भर बन्ने सपना देखेका थिए। त्यही सानो प्रयास आज आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने सशक्त संस्थाका रूपमा विकसित भएको छ ।

सहकारीले नियमित बचत संकलन गर्ने मात्र होइन, सदस्यहरूको आवश्यकता अनुसार सरल र सहज कर्जा उपलब्ध गराउँदै आएको छ। यही कर्जाको सहायताले धेरै महिलाले तरकारी खेती, पशुपालन, साना व्यापार तथा अन्य आयआर्जनका काम सुरु गरेका छन्। यसले परिवारको आम्दानी बढाउनुका साथै महिलाहरूको आत्मविश्वास र निर्णय क्षमतामा समेत उल्लेखनीय परिवर्तन ल्याएको छ।
संस्थाकी अध्यक्ष कमला खड्काका अनुसार सहकारीको उद्देश्य आर्थिक कारोबारमा मात्र सीमित छैन। “हामी महिलालाई बचत गर्न सिकाउने मात्रै होइन, व्यवसाय गर्न सक्ने, नेतृत्व गर्न सक्ने र आफ्ना निर्णय आफैं लिन सक्ने बनाउन चाहन्छौं,” उनी भन्छिन्।
उनका अनुसार सहकारीले टेवा काठमाडौं तथा स्थानीय सरकारसँग सहकार्य गर्दै विभिन्न सीपमूलक तालिम, उद्यमशीलता विकास, नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले ग्रामीण महिलालाई नयाँ अवसरसँग जोड्नुका साथै आत्मनिर्भर बन्ने आधार तयार गरेको छ ।
संस्थाकी व्यवस्थापक इन्दिरा (खतिवडा) भट्टराई भन्छिन्, “सदस्यहरूको क्षमता विकासलाई प्राथमिकतामा राखेर विभिन्न दातृ निकाय र सरोकारवालासँग सहकार्य गरिरहेका छौं। महिलाले सीप सिकेपछि त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सकून् भन्ने हाम्रो प्रयास हो।”
हाल सहकारीले ५० भन्दा बढी महिलालाई प्राङ्गारिक (जैविक) खेतीतर्फ आकर्षित गर्न तालिम, प्राविधिक परामर्श तथा आवश्यक सामग्री वितरण गरिरहेको छ। यसबाट महिलाहरूले सुरक्षित कृषि उत्पादन, स्वास्थ्यकर खाद्यवस्तु उत्पादन र अतिरिक्त आम्दानीको अवसर पाएका छन्।

सहव्यवस्थापक मञ्जु लिम्बुका अनुसार सहकारीको लक्ष्य महिलालाई आर्थिक रूपमा मात्र होइन, सामाजिक रूपमा पनि सशक्त बनाउनु हो। “महिलाले आफ्ना कुरा निर्धक्कसँग राख्न, समूहमा नेतृत्व गर्न र आफ्ना अधिकारबारे सचेत हुन थालेका छन्। यही परिवर्तन हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,” उनी बताउँछिन्।
आज एञ्जेलिया महिला कृषि सहकारी एउटा वित्तीय संस्था मात्र होइन, ग्रामीण महिलाको सपना, आत्मविश्वास र परिवर्तनको साझा चौतारी बनेको छ । बचतको सानो बानीबाट सुरु भएको यात्रा अहिले उद्यमशीलता, नेतृत्व र आत्मनिर्भरताको अभियानमा रूपान्तरण भएको छ ।

सहकारीले विपतमा पनि सारथीको काम गर्ने गरेको छ । गत बर्ष इलाममा भएको बाढिपहिरोका पिढीतलाई टेवा काठमाण्डौ संगको सहकार्यमा अति प्रभावित २५ घर परिवारलाई १८ हजारका दरले राहत वितरण गरेको अध्यक्ष खड्काले बताईन् । टेवाले संस्थाको दिगो विकासको लागि समेत भरथेग गरिरहेको उनले बताइन् ।
गोर्खेका धेरै महिलाका लागि यो सहकारी केवल रकम जम्मा गर्ने ठाउँ होइन, आफ्नो भविष्य निर्माण गर्ने भरोसाको संस्था बनेको छ। ग्रामीण महिलाको सशक्तीकरणमा यस्तो पहलले स्थानीय विकासलाई नयाँ गति दिएको छ भने महिलाको आत्मनिर्भर यात्रालाई अझ बलियो बनाइरहेको छ ।
प्रतिक्रिया