इलाम , बैशाख ८:डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) इलाममा जारी तेस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको ठुलो टुडिखेलमा भएको प्रतियोगितामा चित्लाङ फुटबल क्लबलाई १ – ० ले पराजित गर्दै एनआरटीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
एनआरटीको जीतमा आदित्य शाक्यको गोल नै निर्णायक बन्यो । खेलको १८ औ मिनेटमा आदित्य शाक्यले प्रहार गरेको फ्री किक गोलमा परिणत भएपछि एनाआटीले अघिल्लो चरणको यात्रा तय गर्यो । आजको खेलमा ‘प्लेयर अफ द म्याच’ एनआरटीका आदित्य शाक्य बने । उनले नगद ८ हजार एक सय र ट्रफी प्राप्त गरेका छ्न ।

आजको अन्तिम क्वाटरफाइनल खेल सम्पन्न भए संगै सेमिफाइनल समीकरण पुरा भएको छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार मछिन्द्र एफसी र पथरी–११ भिड्दैछन् । मछिन्द्रले एन पेनाङ मलेसिया र पथरीले घरेलु टिम रेडहर्स एफसीलाई टाइब्रेकरमा हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेका हुन् । दोश्रो सेमिफाइनल खेलमा एनआरटीले रोलिङ क्लब धुलाबारीसंग प्रतिस्पर्धा गर्नेछ । रोलिङले क्वाटरफाइनलमा पाँचथर फुटबल क्लबलाई ३–० गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको थियो ।
बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिता १२ गतेसम्म संचालन हुनेछ । रेड हर्ष फुटबल क्लबद्वारा आयोजित प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख प्राप्त गर्नेछन् ।
प्रतिक्रिया