इलाम , २९ असार : निरन्तरको वर्षाका कारण इलाम सदरमुकाम संग सडक सम्पर्क विच्छेद भएको छ। मेची राजमार्गअन्तर्गत माइखोला स्थित राजदुवाली सडक निरन्तरको बर्षाले चार दिन यता अबरुद्ध छ । चार दिनदेखि ठुला सवारीसाधन सञ्चालन हुन नसकेको यस सडकमा हिजो मोटरसाइकललाई आवतजावत गर्न दिइए पनि सडक थप भासिएपछि आजदेखी पूर्ण रूपमा बन्द भएको छ।
मेची राजमार्ग माईखोला राजदुवाली सडकको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोलामा लगाइएको डाइभर्सन गएराती बगाएको कारण पुर्ण रुपमा अवरुद्ध भएको छ।
जोगमाई खोलामा पुल नहुदा डाईभर्सन बनाएर सवारीसाधन वारपार भइरहेको थियो ।
यसैगरी इलाम–झापा जोड्ने केचना–कञ्चनजङ्घा फास्ट ट्रयाक पुर्ण रुपमा अबरुद्ध छ । यस सडक
अन्तर्गत पुवा खोलामा पुल नहुदा डाइभर्सन बगाएको कारण यातायात सञ्चालन हुन सकेको छैन । केहीदिन अघि यश मार्गमा पर्ने माइखोलामा बेलीबृज जडान गरिएको कारण केही सहज भए पनि पुवाखोलामा लगाउने भनिएको पुल आई नपुगेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
पुवा खोला र जोगमाई खोलामा जडान गरिने भनिएको बेलीब्रिज भारतबाट आउन नसकेको जनाइएको छ ।
झापाबाट इलाम ( सदरमुकाम ) पाँचथर र ताप्लेजुङ जाने सबै सडक बन्द भएपछि यात्रुहरू समस्यामा परेका छन । झापा तर्फबाट आएका सवारी इलाम नगरपालिका १० गोदक तर्फ रोकिएकाछन्। यात्रुहरु हिडेर माईखोला ( पहिरोले अबरुद्ध बनेको सडक ) वारपार गरी गन्तव्य तर्फ पुगीरहेका । विरामी र अशक्तलाई बोकेर वारपार गर्दा कष्टकर बनीरहेको छ ।
दैनिक उपभोग्य सामग्री बोकेका ट्रकहरू सदमुकाम आउन नसक्दा अलपत्र परेका छन्।
प्रतिक्रिया