इलाम , २५ कार्तिक :किरात धर्मावलम्बीको प्रसिद्ध धार्मिक स्थल रहेको इलामको माङसेवुङलाई क्षेत्रविकास बनाउनु पर्ने नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले बताउनु भएको छ । राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्तीको अवसरमा ईलाम, सन्दकपुर–४, माबु हाङमादेनमा राष्ट्रिय विभूति लिङ्देनको शालिक अनावरण तथा किराँत माङ्हिमको समुदघाटन कार्यक्रममा सम्बोधन गर्दै नेता कोइरालाले क्षेत्रविकास बनाउन आफु पनि लागि पर्ने बताउनु भएको हो । लोकतान्त्रिक व्यवस्थामा प्रत्येक जातजातिलाई आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र साहित्यको जगेर्ना तथा विकास गर्ने अधिकार हुने नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले बताउनु भएको छ । नेपालको संविधानले सबै नागरिकलाई समान हक अधिकारको सुनिश्चितता गरेको भन्दै उहाँले भन्नु भयो ‘राज्यव्यवस्थाको सयकडौं वर्षको ढाँचा फेरिएको तर ढाँचा फेर्देमा कैयन सामाजिक मान्यतामा परिवर्तन आएको छैन ’ यसमा प्रशस्त अन्तरविरोधहरु पनि रहेको कुरा स्विकार्न संकोच नरहेको बताउनु भयो । धर्म र आध्यात्मको तपोभूमि नेपाल ऐतिहाँसिक काल देखि नै समस्त मानवजातीको लागि आकर्षणको केन्द्र रहँदै आएको र यसक्रममा महागुरुको अवतरणले यो रमणीयभूमि पनि तपोभूमि भएर ज्ञान र चेतनाका प्रकाश विस्तार गर्ने केन्द्रको रुपमा पहिचान बनाउन सफल भएको नेता कोइरालाले बताउनु भएको छ ।
उहाँले भन्नु भयो ‘किराँत धर्मावलम्वीहरुले आफ्नो लोक जिवनको उल्लास, खुशीयाली र सम्पन्नताको लागि देश विदेशमा पनि प्रसिद्धि कमाएका छन । ’ स्वभावले साहस र सरलताको मिश्रण भएको किराँत समुदायले अन्तराष्ट्रिय समुदाय विच बनाएको पहिचानले नेपाली संस्कृति र सभ्यतालाई थप उचाईमा पुर्याएकोे कुरा इतिहाँसमा स्वर्णिम अक्षरले लेखिएको उहाँको भनाई छ ।
किराँत धर्म तथा साहित्य उत्थान संघको विशेष समन्वयमा भएको कार्यक्रममा किराँत धर्मगुरु आत्मानन्द लिङ्देन “सेइङ्” तथा गुरुआमा साँबा पवित्रहाङ्मा लिङ्देनले राष्ट्रिय विभूति एवं समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको पुर्ण कदको शालिक अनावरण गर्नु भएको छ ।
फाल्गुन्दको जन्म १९४२ साल कार्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिका २ मा भएको थियो । २००५ साल चैत २२ गते उहाँको निधन भएको थियो ।
किरात भाषा , लिपी तथा संस्कार सस्कृति संरक्षणमा फाल्गुनन्दको विशेष योगदान रहेको छ । फाल्गुनन्दलाई समाज सुधारककार रुपमा मान्ने गरिन्छ । फाल्गुनन्दलाई २०६६ सालमा राष्ट्रिय विभुति घोषणा गरिएको थियो भने उहाँको फोटो अंकित हुलाक टिकट सरकारले प्रचलनमा ल्याईसकेको छ । फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा हजारौ धर्मावलम्बी तथा पर्यटक सन्दकपुर–४, माबु पुगेका छन ।
प्रतिक्रिया