सुनिता मगर , इलाम २ माघ :
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि इलाममा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदैछ। प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले कार्यलय स्थापना गरेको जनाएको छ ।
इलाम सदरमुकामस्थित नेपाल बार एसोसिएसनको भवनमा कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन आयोगले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउनका लागि उम्मेदवार दर्ता, उजुरी व्यवस्थापन तथा निर्वाचनसम्बन्धी प्रशासनिक कार्यलाई सहज बनाउने उद्देश्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जनाएको छ । स्थानीय तहसम्म निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउने आयोगको लक्ष्य रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी रोसन गजुरेललाई दिइएको छ । कार्यालय स्थापना कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख, निर्वाचन आयोगका प्रतिनिधि तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यसरी गरी इलाम क्षेत्र नम्बर १ का लागि सुर्योदय नगरपालिकाको फिक्कलमा कार्यलय स्थापना भएको जिल्ला निर्वाचन कार्यलय इलामका प्रमुख देवीचरण फुयालले बताउनु भएको छ । उक्त कार्यलयको मुख्य निर्वाचन अधिकृत खुम प्रसाद भण्डारी रहनु भएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता माघ ६ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । सोही दिन मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सुची प्रकाशन गरिनेछ ।
माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने माघ ७ र ८ गते मनोनयनपत्र उपर जाँचबुझ गरी निर्णय गरिनेछ । माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । उम्मेदवारले माघ ९ गते नाम फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार फागुन २१ गते मतदान हुनेछ । कार्यालय स्थापनासँगै इलाममा आगामी निर्वाचनको तयारी तीव्र रूपमा अघि बढेको छ ।
प्रतिक्रिया