सूर्योदयका चिया उद्योग नखुल्ने

सूर्योदयका चिया उद्योग नखुल्ने


इलाम।सूर्योदय नगरपालिकाको कार्यपालिका बैठकले चिया वगान र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नहुनेगरी कामदारहरू अत्यन्त सुरक्षित भएर बगान–उद्योगको काममा निरन्तरता दिन आग्रह गरेपछि सूर्योदय टि प्रोड्युसर्स एसोसिएसनको विहीबारको बैठकले उद्योग सञ्चालन नगर्ने निर्णय गरेको छ ।
एसोसिएसनको बैठकले नगरले तोकेको मापदण्ड पालन गरेर उद्योग सञ्चालन गर्ने अवस्था नरहेकाले हाललाई उद्योग खोल्न नसक्ने निर्णय गरेको अध्यक्ष पुनम राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सूर्योदय नगरपालिकाले सुरक्षाका विधि अपनाएर चिया वगान र कारखाना सञ्चालनको व्यवस्था गर्ने योजना सार्वजनीक गरेको थियो ।
हरियो पत्ती टिप्ने कामदारले न्यूनतम २ मिटरको सामाजिक दुरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, दिउँसो २ बजेपछि चिया नटिप्ने, ४ बजेसम्ममा उद्योगमा पत्ती पुयाउने लगायताका मापदण्ड बनाएको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले जानकारी दिए ।
एसोसिएसनका सहसचिव बुद्ध तामाङले सडकमा हिड्न समेत नसक्ने अवस्थामा कारखाना चलाउने प्रयासको अर्थ नरहेको बताए । उनले अवस्था सहज भएपछि कारखाना खोल्ने बताए ।