सूर्योदय । गत वर्ष भदौमा सवारी दुर्घटनामा परी असामयिक निधन भएका जेहेन्दार युवा दिवङ्कर चाम्लिङ (राई) को स्मृतिमा आइतबार सूर्योदय नगरपालिकामा विशेष साहित्यिक गोष्ठी सम्पन्न भएको छ। ‘शब्दको उज्यालो भित्र दिवङ्कर’ नाम दिइएको उक्त कार्यक्रममा २१ जना कवि तथा गजलकारहरूले आफ्ना मर्मस्पर्शी रचनाहरू वाचन गरेका छन्।
सूर्योदय गजल तथा साहित्य मञ्चद्वारा आयोजित उक्त कार्यक्रम दिवङ्करको जन्म स्मृतिको अवसरमा हर्कटे (स्काइ वाक नजिकै) आयोजना गरिएको थियो।
दिवंगत दिवङ्करका पिता एल.बी. राईले छोराको सम्झनालाई चिरस्थायी बनाउन वाचन गरिएका रचनाहरू समेटेर एउटा ‘स्मारिका’ प्रकाशन गर्ने बताए । आफ्ना एक मात्र छोराको निधनले परिवारमा परेको अपूरणीय क्षतिलाई शब्द र साहित्यमार्फत जोड्न खोजिएको उनको भनाइ थियो।
समाजमा एक मेहनती, मिलनसार र जेहेन्दार युवाको छवि बनाएका दिवङ्करको योगदान र व्यक्तित्वको कार्यक्रममा उच्च प्रशंसा गरियो। उनको सम्झना र सम्मानमा गत वर्ष नै पर्यटकीय क्षेत्र कन्याममा प्रतिमा (सालिक) निर्माण गरिएको छ ।
प्रतिक्रिया