अनुदानको मलमा जहिलै झमेला

अनुदानको मलमा जहिलै झमेला


इलाम । सूर्योदय नगरपालिका १० का किसानले मात्रै बार्षिक सात हजार बोरा युरीया माग गरेका थिए । कृषि सामग्री कम्पनीको डिपोको रुपमा काम पाएको जनएकता कृषि सहकारी सस्थाले कम्पनीसंग सात हजार किलो मलनै माग गर्यो तर सहकारीले बर्ष भरीमा कम्पनीबाट ९१५ सयो बोरा मल ल्यायो ।
जनएकता कृषि सहकारीत एउटा उदहारण मात्रै हो इलाममा रहेको ३५ वटा डिपोको अवस्था उस्तै छ । सहकारी हरुले शेयर सदस्यको मागको २५ प्रतिशत मल पनी आपुर्ती गर्न सकेको छैन ।
कम्पनीका प्रवन्ध सञ्चालक नेत्र बहादुर भण्डारी किसानले माग जती मल उपलव्ध गराउन नसकिने बताउँछन् । उनी भन्छन् ‘सरकारले दिएको अनुदानको आधारमा मल खरिद गर्ने हो ।’ उनले आएको मल सबै जिल्लामा प्राथमिकताको आधारमा वितरण गरेको बताए ।
कृषि सामग्री कम्पनी मार्फत रासयनीक मल पाउने गरेका इलामका किसान अहिले मलको अभाव झेल्न बाध्य भएका छन् । ढुवानीको समस्या देखाउँदै इलाममा रासयनीम मल आउन छोडेपछि कृषकहरु मारमा परेका हुन् ।
कृषि सामग्री कम्पनीमा दर्ता भएका ३५ वटा सहकारी डिलरले कम्पनीको इलाम कार्यालयबाट मल नपाएपछि लामो प्रकृया पुरा गरेर झापाबाट आंसिक मात्रामा मल आपुर्ती गर्ने गरेका छन् ।
कम्पनीका इलाम निमित्त प्रमुख नरोज दहालका अनुसार इलाममा एउटै सहकारीका १३ हजार बोरा सम्म युरीयाको माग रहेको छ । उनले भने ‘हाम्रो बार्षिक लक्ष जम्मा १२ हजार बोरा युरीया विक्री गर्ने हुन्छ । ’
अत्याधिक माग भएपनि कृषि सामग्री कम्पनीले इलामका किसानको मागलाई नबुझेको कारण किसान समस्यामा परेको राष्ट्रिय कृषक समूह महासंघ देउमाई नगरपालिकाका अध्यक्ष कृष्ण बरालले गुनासो गरे । उनले भने ‘पहुच पु¥याउने सहकारीले झापा र विराटनगरबाट समेत मल ल्याएर वितरणको प्रयास गरेका छन् ।’
इलामबाट मल वितरण हुँदा सहकारी डिलरहरुले हप्तामा ५० बोरा सम्म मल पाउने गरेका थिए । अहिले त्यो अवस्था नरहेको सूर्योदय नगरपालिका १० को जनएकता कृषि सहकारी सस्थाको अध्यक्ष हेममाया प्रधानले बताइन् । उनले भनिन् ‘हामीलाई बार्षिक ६ हजार बोरा युरीयाको मात्रै माग छ, यस बर्ष हजार बोरा मात्रै पाइयो ।’ किसानको माग अनुसार मल उपलव्ध गराउँन नसक्दा कृषि सामग्री कम्पनीको डिलरको रुपमा काम गरिरहेका सहकारीहरु समस्यामा परेको उनको भनाई छ ।
सरकारले चिया खेतीका लागि अनुदानको मल उपलव्ध नगराउने नितीको कारण पनि इलाम मलको प्राथमिकतामा नपरेको हो । तर, इलामका किसानले तरकारी वा कृषिका लागि भन्दै खरिद गर्ने युरीया मलको ढुलो हिस्सा चियामा खपत हुने गरेको किसानहरु बताउँछन् ।
गत आर्थिक बर्षमा कम्पनीको इलाम शाखबाट युरीया ७५८ दशमलव ५०० टन युरीया मल विक्री भएको निमित्त शाखा प्रवन्धक दहालले जानकारी दिए । कम्पनीले २३४ दशमलव २०० टन डिएपी र ५० दशमलव ७०० टन पोटास विक्री गरेको दहालले बताए ।