डम्बर खड्का  विजयी गराए ईलाम -२ को विकासको जिम्मा लिन्छु : कोईराला

डम्बर खड्का  विजयी गराए ईलाम -२ को विकासको जिम्मा लिन्छु  : कोईराला

इलाम : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले इलाम उपनिर्वाचनबाट कांग्रेस उमेद्वार डम्बर खड्का  विजयी गराए ईलाम -२ को विकासको जिम्मा आफूले लिने बताएका छन् ।

मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने,”रुख चिन्हमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाउँनोस् ईलाम -२ को बिकासको जिम्मा म लिन्छु ।”

नेता कोइरालाले नेपाली कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताए ।  कांग्रेस सधैँ पहिचान, पहुँच र प्रतिनिधित्वको पक्षमा भएको भन्दै उनले कांग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने  भ्रममा नपर्न अनुरोध गरे ।

“गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरु बिराटनगर जानुभएको थियो, मैले उहाँहरुलाई पहिचानको मुद्दामा म सम्बेदनशिल रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ ,” उनले भने,”अर्को कुरा प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईं सबैलाई थाहा नै छ ।”

सम्बोधनको क्रममा उनले अन्य दलहरु आफ्नो दल र तिनका नेता भन्दा माथि उठ्न नसकेका र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन् भन्ने कुरा लिएर हिंडेका उल्लेख गरे । नेता कोइरालाले  चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चियाबगानमा काम गर्ने श्रमिकहरुका लागि समान ज्याला र उनीहरुको हकहितका पक्षमा काम गर्ने प्रतिवद्धता जनाए ।