इलामका तिम्सिना चार दशक पछि भारतिय जेलमा भेटिए

इलामका तिम्सिना चार दशक पछि भारतिय जेलमा भेटिए

विसं. २०३५ साल माघको महिना, नेपालको इलामका दीपक जोशी तिमिल्सिना घरबाट निस्किएका थिए तर उनी कहिल्यै घर फिर्ता भएनन् । उनी हराएको ४० वर्षपछि उनको परिवारका सदस्यले उनलाई अघिल्लो महिना कोलकाताको दमदम केन्द्रीय कारागारमा देख्न पाए । उनका भाइ प्रकाश चन्द्र तिमिल्सिनाले कोलकाता गएर उनलाई भेट गरेका छन् ।

त्यतिबेला उनी आफ्नो गाउँमा नै सानोतिनो काम गर्दथे र ज्योतिष शास्त्रमा उनको रुची थियो ।
 
यसबारे बीबीसी हिन्दीले समाचार प्रकाशित गरेको छ । प्रकाश चन्द्र तिमिल्सिनाले बीबीसीसँगको टेलिफोन वार्तामा भने, ‘हामीले त दाइको मृत्यु भइसकेको होला भन्ने सोचेका थियौं । हामीले नेपालको हरेक ठाउँमा उनलाई खोजेका थियौं तर केही थाहा पाउन सकेका थिएनौं ।’

उनले थपे, ‘त्यतिबेला दार्जिलिङमा गोर्खाल्याण्डको आन्दोलन चलिरहेको थियो । हामीले सोचेका थियौं कि त्यहि आन्दोलनमापरी दाइको मृत्यु भएको होला । यत्तिका वर्षपछि दाइको खबर आउला भनेर हामीले सोचेका पनि थिएनौं ।’

उता दीपका जोशी तिमिल्सिना लगभग ४० वर्ष पश्चिम बंगालको विभिन्न जेलमा विचाराधीन कैदीको रुपमा रहिसकेका छन् । चार दशकमा पनि उनीविरुद्धको सुनुवाई पूरा हुन सकेको छैन । 

बुधबार उनको मुद्दामा कलकत्ता हाईकोर्टका मुख्य न्यायाधीशको डिभिजन बेन्चले सुनुवाई गर्यो । जोशाीको अर्को सुनुवाई आउँदो सोमबार हुनेछ । 

अदालतले दीपक रिहा भएर नेपाल फर्कन पाउँछन् कि पाउँदैनन् भनेर निर्णय गर्नुपर्ने छ । 

४० वर्षसम्म दीपक जोशीको जीवन रोकिएता पनि पछिल्ला केही महिनामा नाटकीय घटना भए ।

अघिल्लो वर्ष फेब्रुअरीमा नदीग्रामबाट राधेश्याम दास ट्रान्सफर भएर दमदम केन्द्रीय कारागार आए । उनलाई माओवादी संगठनसँग सम्बन्धित भएको आरोपमा १० वर्ष अघि पक्राउ गरिएको थियो । उनी सन् २०१६ मा पनि केही दिन दमदम जेलमा थिए । 

राधेश्याम दासले बीबीसीसँग भने, ‘अघिल्लो महिना फेब्रुअरीमा जब मलाई दमदम ल्याइयो तब पहिलादेखि नै परिचित दीपकजीसँग पुनः भेट भयो । जेलमा जो मानसिक रुपमा अस्वस्थ हुन्छन्, उनीहरुसँग म स्वेच्छाले परिचय गर्छु । त्यसै गरी दीपकसँग पनि परिचय भयो । कुरै कुरामा थाहा भयो कि उनी पछिल्लो ४० वर्षदेखि जेलमा छन् तर उनको मुद्दामा कुनै सुनुवाई भएको छैन ।’

जेलबाट जमानतमा छुटेपटि दासले पश्चिम बंगालको एमेच्योर रेडियो क्लबसँग सम्पर्क गरे । यो रेडियो सञ्चालकका एउटा संगठन हो । 

रेडियो क्लबका सचिव अम्बरीश नाग विश्वासले भने, ‘राधेश्याम दासले एक व्यक्ति सुनुवाई बिना नै ४० वर्ष जेलमा छन् भन्ने थाहा पाउँदा म चकित भएँ । हामीले जेल कार्यालयसँग सम्पर्क गर्यौं  । उनीहरुले सुरुमा त विश्वास गरेनन् । तर पछि अनुसन्धान गर्दा उनीहरुलाई पनि थाहा भयो कि दीपक जोशी तिमिल्सिना नामका एक कैदी सन् १९८१ देखि जेलमा बन्द छन् र अहिलेसम्म उनको सुनुवाई भएको छैन ।’

अम्बरीश नाग विश्वास र उनका क्लबका केही मानिसहरुले दीपक जोशीसँग भेट्ने अनुमति मागे । तर परिवारको सदस्य नभएका कारण हिरक सिन्हाले मात्रै जोशीलाई भेट्ने अनुमति पाए किनभने उनी कलकत्ता हाइकोर्टका वकिल हुन् । 


हिरक सिन्हाले भने, ‘मलाई पहिला नै शंका भएको थियो कि दीपक जोशी कतै मानसिक रुपमा अस्वस्थ त छैनन् । किनभने हामीले विभिन्न अदालतबाट जतिपनि कागजात जुटाएका थियौं, त्यसमा त्यहि संकेत दिइएको थियो । तर उनीसँग कुरा गरेपछि मलाई कहिल्यै लागेन कि उनी मानसिक रुपमा अस्वस्थ छन् । तर उनी निश्चित रुपमा सदमामा भने थिए । मलाई नेपाली भाषा राम्रोसँग आउँदैन तर केही बुझ्छु । यहि आधारमा मैले उनीसँग कुराकानी गरिरहेको थिएँ । कुराकानीकै बीच उनले कागज कलम मागेर केही शब्द लेखे । देवनागरीमा लेखिएका ती शब्द आधा अधुरा लागेपनि वास्तवमा त्यो नै उनको परिचय थियो । एउटा गाउँको नाम, आमा बुवाको नाम, स्कूलको नाम ।’

जोशीसँग सम्बन्धित जुटाइएका कागजातमार्फत् थाहा भयो कि उनलाई सन् १९८१ मा दार्जिलिङबाट हत्याको मामिलामा पक्राउ गरिएको थियो । 
अम्बरीश नाग विश्वासले भने, ‘नेपालबाट आएर दार्जिलिङको कुनै चिया बगानमा उनले काम गरेका थिए । कुनै व्यक्तिले उनलाई जागिर दिलाउने कुरा गरेका थिए र त्यसको बदलामा उनलाई एक व्यक्तिको हत्या गर्न भनिएको थियो । उनैको कुरामा आएर दीपकले एक व्यक्तिको हत्या गर्छन् । पक्राउ पनि पर्छन् । त्यसबेला देखि नै उनी जेलमा बन्द छन् ।’

पक्राउ परिसकेपछि पनि उनलाई कहिल्यै पनि अदालतमा पेश गरिएन । कहिले बहरमपुर जेल, कहिले अलीपुर जेल, कहिले मनोरोग चिकित्सालय – यसै गरी चार दशक बित्यो । 

अदालतले बारम्बार दीपक जोशीको मानसिक स्वास्थ्यको आदेश दिएको थियो । तर त्यो रिपोर्ट कहिल्यै अदालतमा पेश गरिएन । 
ह्याम रेडियो अपरेटरको संगठनले उनको ठेगाना पत्ता लगाएर कोलकातामा नेपाली वाणिज्य दूतावाससँग सम्पर्क गर्यो । 

अम्बरीश भन्छन्, ‘नेपालमा २०७२ को महाभूकम्पश्चात् त्यहाँ काम गर्न जाँदा मेरो स्थानीय ह्याम अपरेटरसँग परिचय भएको थियो । तीमध्ये एक थिए नेपालका सर्वोच्च अदालतका वकिल सतिश खरेल । मैले रेडियोमा नेवालका यी दुई ह्याम अपरेटरलाई सन्देश दिएँ – नाइन नोभेम्बर वन अल्फा अल्फा र नाइन नोभेम्बर वन चार्ली अल्फा । पहिलो खरेलको कल साइन थियो र दोस्रो अरुण नामका एक ह्याम अपरेटको थियो । उनीहरुलाई मैले सबै कुरा बताएँ । त्यसपछि उनीहरुले दीपक जोशीले लेखेको स्थानको नामको आधारमा खोजीकार्य सुरु गरे । ’

उनका अनुसार जोशी इलाम जिल्लाको चुलाचुली गाउँको एउटा स्कूलमा पढाउँथे । उक्त गाउँमा गएर थाहा भयो कि भूकम्पमा स्कूल ध्वस्त भएको छ । त्यहाँ स्थानीय मानिसहरुले ह्याम अपरेटरले कसबारे जानकारी लिन चाहन्छन् भनेर जान्न चाहे । 

वकिल रिहक सिन्हाले बताए, ‘दीपकको नाम लिने बित्तिकै उनीहरुले उनको मृत्यु भइसकेको बताए । तर उनका एक भाइले त्यहि विद्यालयमा पढाउँथे । तर स्कूल अन्तै सारियो । त्यहाँ गएर प्रकाश चन्द्र तिमिल्सिना भेटिए । उनका दाइ जिउँदो छन्, त्यो सुनेर पनि उनी पनि चकित खाए । त्यसपछि उनीहरुले दीपककी आमा भएठाउँ लिएर गए । ’

अम्बरीश नाग विश्वास भन्छन्, ‘नेपालको ह्याम रेडियोका आफ्ना साथीमार्फत् हामीले सुन्यौं । जब आमा धनमाया तिमिल्सिनालाई उनका छोराबारे सोधियो तब लगभग ९० वर्षकी ती वृद्धाले आकाशतर्फ हरेर दीपक पंक्षी भइसकेको बताइन् । उनले घरभित्र लगिन् र देवताको चित्र सँगै एउटा धमिलो तस्बिर देखाइन् – त्यो दीपक जोशीको थियो ।’

यसैबीच यो कुरा कलकत्ता उच्च अदालताई थाहा भयो कि स्वतः संज्ञान लिँदै अदालतमा एउटा जनहितको मामिला दर्ता गरेको छ । मुख्य न्यायाधीशको डिभिजन बेन्चले नेपालको वाणिज्य दूतावासले पनि यो मामिलामा सहयोग गर्ने निर्देशन दियो ।

यसमा राज्य लिगल एडसर्भिसलाई पनि समावेश गरियो । लिगल एड सर्भिस गरिब कैदीलाई कानूनी सहायता प्रदान गर्छ । 

जनहितको यो मामिलामा लिगल एड सर्भिसको प्रतिनिधित्व वकिल जयन्त नारायण चटर्जीले गरिरहेका छन् । 

चटर्जीले भने, ‘४० वर्षसम्म एक व्यक्तिको मामिलाको सुनुवाई भएको छैन । यो कसरी सम्भव छ । कसको गल्ती हो । यो बुझन् सकेको छैन । यस्तो लाग्छ कि यो मामिला बिस्तारै दबियो । यो मानवाधिकारको घोर उल्लंघन हो । सुनुवाई भएको भए सजायँ हुन्थ्यो, तर यी निर्दोष पनि हुन सक्थे । तर यसको साटो उनले एक विदेशी जेलमा ४० वर्ष काट्नु पर्यो । ’

दीपक जोशीका भाइ प्रकाश चन्द्र आफ्ना दाइलाई भेट्न नेपालबाट कोलकाता गएका थिए । 

प्रकाश चन्द्र तिमल्सिनाले भने, ‘कोलकाता जानु अघि आमाले दाइको फोटो खिच्न भन्नुभएको थियो । तर जेलको नियम अनुसार हामीलाई फोटो खिच्न दिइएन । ४० वर्षपछि दाइलाई देखेर कस्तो अनुभूति भइरहेको छ, त्यो भावना शब्दमा वर्णन गर्न सक्दिनँ ।’

फोन राख्नुअघि उनले सोधे, ‘दाइ रिहा त हुनुहुन्छ नि ? फर्कन त सक्नुहुन्छ नि चार दशकअघि छोडेर गएको गाउँमा, आफ्नी आमा भएको ठाउँमा, आफ्नो परिवार भएको ठाउँमा ।

रातो पाटीबाट