इलाम , ६ वैशाख :जलवायु परिवर्तन तथा वातावरण संरक्षण सम्बन्धी दुईदिने तालिम इलाममा सम्पन्न भएको छ। इलाम नगरपालिका ८ मा सिमधारा कृषि महिला समुहको आयोजनामा दुई दिने तालिम संचालन भएको थियोे । जलवायु परिवर्तनको मुद्दा पेचिलो बन्दै गएको अवस्थामा नागरिक स्तरमा सचेतता जगाउन सिमधारा महिला समुहले तालिम संचालन गरेको छ । वातावरणीय सन्तुलन कायम राख्दै दिगो विकासलाई प्रबर्द्धन गर्ने उद्देश्यका तालिम आयोजना गरिएको सिमधारा कृषि महिला समुहकी सचिव खोम कुमारी (मुनु) खवासले जानकारी दिनु भएको छ । तालिममा वातावरण संरक्षणका विविध पक्षमा सहभागीहरूलाई अभिमुखीकरण गरिएको उहाँले बताउनु भयो ।तालिममा वन, पानी र माटो जस्ता प्राकृतिक स्रोतहरूको दिगो प्रयोग, वृक्षारोपण, प्रदूषण नियन्त्रण तथा फोहोर व्यवस्थापनजस्ता विषयमा विशेष जोड दिइएको छ। वातावरण संरक्षण सम्पूर्ण प्राणीको अस्तित्वका लागि अपरिहार्य रहेको र यसमा प्रत्येक नागरिकको भूमिका महत्वपूर्ण हुने कुरा औंल्याइएको छ। जलवायु परिवर्तनका असर र यसबाट जोगिन अपनाउनुपर्ने उपायहरूबारे पनि सहभागीहरूलाई जानकारी गराइएको छ। टेवाको आर्थिक सहयोग , सहयात्रा नेपाल इलामको समन्वयमा संचालन भएको तालिममा सुबोध निरौलाले सहजीकरण गर्नु भएको छ ।
तालिममा इलाम नगरपालिका ८ का टोलबिकास समितिका प्रतिनिधि , युवा , महिला , कृषक लगायत सहभागी भएका थिए । सिमधारा महिला समुहले सामुहिक रुपमा जैविक तरकारी खेती , लगायत महिलाहरुको आय आर्जन वृद्धि गर्न विभिन्न सिपमुलक तालिम संचालन गरी उद्यम तर्फ लाग्न महिलाहरुलाई सघाउदै आईरहेको छ ।
प्रतिक्रिया