इलाम , फागुन २९ : विश्व शान्तिको कामना गर्दै इलाम नगरपालिका ८/९ मा २०५९ सालमा सुरु गरिएको अठार पुराण सम्पन्न गर्न लागिएको छ ।
२०५९ सालमा इलाम नगरपालिका ६ स्थित श्री जनकल्याण प्राथमिक बिद्यालय प्राङ्गणमा पुराण सुरु गरी अठार पुराणको लक्ष्य लिइएको जनाइएको छ । सो समयमा बिश्व शान्तिको कामना गर्दै हिन्दु धार्मिक परम्परा र बौद्ध धर्म अनुसार दोमाङ पाठ गरि पुरान सुरु गरिएको थियोे । विगत वर्षहरूमा इलाम जिल्लाका विभिन्न स्थान , माइखोला , गजुर्मुखी धाम लगायत विभिन्न शक्तिपीठहरुमा १७ पुराण सफलतापूर्वक पाठ एवं वाचन सम्पन्न गरिएको थियोे ।
इलाम नगरपालिका ६ सिङफ्रिङ स्थित सिंहसिद्धदेवी तथा देवी पञ्चायन मन्दिर परिसरमा १४ औ देखि १७ औ पुराण सम्पन्न गरिसकिएको छ ।
अठार पुराण भव्य रुपमा सम्पन्न समापन एवं इलाम धार्मिक महोत्सव २०८०को तयारी अन्तिम चरणमा पुगेको अठार पुराण मुल आयोजक समिति अध्यक्ष सन्दीपकुमार बुढाथोकीले बताउनु भयो । इलाम जिल्लामा रहेका शक्तिपीठ तथा धार्मिकस्थलको प्रचारप्रसार र विकास गर्ने उदेश्य सहित आगामी चैत १ देखि ९ सम्म संचालन हुन लागेको अठार पुराण अन्तर्गत श्री स्कन्ध पुराण र बहुधार्मिक संयोजन सहित इलाम धार्मिक महोत्सव आयोजना गरिएको जनाएको छ । साथै बहु धार्मिक सङ्ग्रालय निर्माण गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा बौद्धगुरुबाट दोमाङ्ग पाठ किरात धर्मगुरुबाट मुन्धुम र हिन्दु धर्म गुरुबाट पुराण बाचन तथा पाठ पारायण हुने जनाएको छ । पुराणमा भागवत् मञ्जरी राधिका दासीबाट स्कन्द पुराण कथा वाचन हुने भएको छ । किराँत धर्म गुरु महिङ्गुम अङसीमाङ आत्मानन्द लिङदेन , बौद्ध धर्म गुरु खेन रिन्पोछे फुर्तेम्बा शेर्पा र जगदगुरु श्रीबाल सन्त मोहन शरणदेवचार्य महाराजश्री लगायतका धार्मिक ब्यक्तिबाट धार्मिक प्रवचन हुने समितिका सचिव रविन रायमाझीले बताउनु भयो ।