इलाम, १३ भाद्र : सूर्योदय नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रबार सम्पन्न अधिवेशनले सर्वसम्मत सहमतिबाट सुरेन पौडेललाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले नगरभित्रका व्यापारी–उद्यमीको साझा संगठनलाई थप सबल र प्रभावकारी बनाउन सक्षम नेतृत्व आएको विश्वास व्यक्त गरेको छ ।
नवगठित कार्यसमितिमा अध्यक्ष सुरेन पौडेल, वरिष्ठ उपाध्यक्ष पुजन श्रेष्ठ, प्रथम उपाध्यक्ष प्रज्वल प्रधान, दोस्रो उपाध्यक्ष दिपेश शाह, महासचिव तोयानाथ भट्टराई, कोषाध्यक्ष मिना ढकाल र सचिव विक्रम श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यमा धर्मकला दहाल, प्रमिला मोक्तान, छिरिङ डोल्मा यल्मो, लासाङ तामाङ, ऋषि पाण्डे, गणेश घिमिरे, राजु बराल र डिल्ली प्रसाद सापकोटा चयन भएका छन् ।
अधिवेशनमा सहभागी व्यापारी तथा उद्यमीहरूले नयाँ नेतृत्वले व्यवसायिक हितसुरक्षा, स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलता प्रोत्साहन र व्यावसायिक वातावरणलाई सहज बनाउन विशेष पहल गर्ने अपेक्षा राखेका छन् ।
नवनिर्वाचित अध्यक्ष सुरेन पौडेलले नगरभित्रका व्यवसायीलाई एकताबद्ध गर्दै निजी क्षेत्रको अधिकार र हित संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसपटकको अधिवेशनलाई सूर्योदय नगर उद्योग वाणिज्य संघको स्थापना यताकै महत्त्वपूर्ण अधिवेशनका रूपमा लिइएको छ । नगरका विभिन्न वडाबाट व्यापारीहरूको उल्लेख्य सहभागिता रहेको अधिवेशनमा संघले विगतमा गरेका गतिविधि समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढाउने निर्णय पनि गरिएको छ ।
फोटो लोकल सन्देश
प्रतिक्रिया