इलाम, २६ असार । हरितनगर कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्य तथा उनीहरूका आश्रित परिवारलाई स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने उद्देश्यले इलामस्थित माई मेडिकल हल र इलाम पोलिक्लिनिकसँग सम्झौता गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार सम्झौता कार्यान्वयनमा आएपछि इलाम पोलिक्लिनिकले प्रदान गर्ने सबै प्रकारका सेवामा तोकिएको शुल्कदरमा २५ प्रतिशत छुट उपलब्ध गराउने सञ्चालक विजय राजवंशीले जानकारी दिनुभयो। उहाँका अनुसार पोलिक्लिनिकमा उपलब्ध नभई बाहिर पठाउनुपर्ने परीक्षण सेवामा भने यो छुट लागू हुने छैन। साथै औषधिमा १२ प्रतिशत छुट उपलब्ध गराइनेछ भने कस्मेटिक तथा खाद्य सामग्रीमा छुट सुविधा रहने छैन।

माई मेडिकल हल इलामकी सञ्चालक सरस्वती श्रेष्ठले सहकारीसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबै ग्राहकलाई दिँदै आएको १० प्रतिशत औषधि छुटलाई सहकारीका सेयर सदस्यका लागि १२ प्रतिशत पुर्याइएको बताउनुभयो। कस्मेटिक तथा खाद्य सामग्रीमा भने छुट उपलब्ध गराउन नसकिने उहाँले स्पष्ट पार्नुभयो।
सहकारीका अध्यक्ष अर्जुन पोख्रेलले सहकारीका अधिकांश सेयर सदस्य किसान तथा निम्न र मध्यम आय भएका परिवार रहेको उल्लेख गर्दै उपचार तथा औषधिमा छुट सुविधाले सदस्य र उनीहरूका आश्रित परिवारलाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो। आगामी दिनमा झापा, काठमाडौं लगायत अन्य जिल्लाका स्वास्थ्य सेवा प्रदायक संस्थासँग पनि यस्तै सहकार्य विस्तार गरिने उहाँले बताउनुभयो।
कार्यक्रममा सहकारीका उपाध्यक्ष ज्योतिमाला प्रधान तथा लेखा समिति सदस्य सविता पाण्डेले स्वास्थ्य सेवा प्रदायकसँग गरिएको यस सहकार्यले सेयर सदस्यलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै छुट सुविधालाई निरन्तर र दिगो रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
सहकारीले इलाम पोलिक्लिनिकसँग तीन वर्ष र माई मेडिकल हलसँग दुई वर्षका लागि सम्झौता गरेको जनाएको छ। सम्झौता बमोजिम स्वास्थ्य सेवा प्रदायक संस्थाले उपचार तथा औषधिको दररेट वार्षिक रूपमा सहकारीलाई उपलब्ध गराउनेछ भने सहकारीले छुट सुविधा प्राप्त गर्ने लाभग्राही सदस्यहरूको विवरण सम्बन्धित संस्थालाई उपलब्ध गराउने जनाइएको छ ।
प्रतिक्रिया