तोयानाथ भट्टराई । इलाम
इलाम नगरपालिका ७ की अमृता राईको दैनिकी सात वर्षअघिसम्म सामान्य घरायसी काममै सीमित थियो । तर, आज उनी एक सफल व्यवसायी बन्ने यात्रामा छिन् । उनको ‘निक्छु कस्मेटिक एण्ड भेराइटी पसल’ को चमकले केवल उनको घरको आर्थिक अवस्थामात्र फेरेको छैन, बरु इलामको सहकारी अभियानले कसरी एक सामान्य नागरिकको जीवनमा ‘कायापलट’ गर्न सक्छ भन्ने उदाहरण पनि बनेको छ ।
अमृता भन्छिन्, “सात वर्षअघि सुनगाभा बचत तथा ऋण सहकारीबाट लिएको सानो कर्जा र थोरै पुँजी जोडेर दुई लाखबाट सुरु गरेको व्यवसाय आज ४० लाख रुपैयाँभन्दा माथि पुगेको छ । अहिले दैनिक २५ हजारको कारोबार हुन्छ, घर–परिवार चलाउन निकै सहज भएको छ ।” अमृता त केवल एक प्रतिनिधिपात्र मात्र हुन् । इलाम नपाभित्रका ८४ वटा सक्रिय सहकारीले यस्ता हजारौँ ‘अमृता’हरूको आर्थिक भविष्य कोरिरहेका छन् ।

इलामनगरपालिकामा सहकारीहरू केवल बचत र ऋणको कारोबार गर्ने संस्थामात्र रहेका छैनन्, यिनीहरू स्थानीय अर्थतन्त्रको मेरुदण्ड बनेका छन् । नगरका ८४ सहकारीमा हाल १३ हजार ८९२ महिला र १० हजार ४४३ पुरुष गरी २४ हजार ३३५ जना शेयर सदस्य आवद्ध छन् । यी सहकारीले प्रत्यक्ष रूपमा ११० जनालाई रोजगारी दिएका छन् भने अप्रत्यक्ष रूपमा हजारौँलाई स्वरोजगार बनाएका छन् ।
नगरपालिकाका सहकारी शाखाप्रमुखमदनकुमार गुरुङ्गकाअनुसार, नगरका सहकारीहरूले शेयर सदस्यको जीवनस्तर उकास्न रचनात्मककाम गरिरहेका छन् । उनले भने, “सबैले निकै राम्रो प्रयास गरेका छन्, यसले नगरको समग्र समृद्धिमा गतिलो टेवा पु¥याएको छ ।”
स्वास्थ्य र सुविधामा सहकारीको ‘हस्तक्षेप’
सहकारीहरूले स्वास्थ्य सेवा र सुलभ सेवामा गरेको लगानी इलामका लागि नौलो र प्रभावकारी अभ्यास बनेको छ । आदर्श बहुउद्देश्यीय सहकारी संस्था यसको ज्वलन्त उदाहरण हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिप श्रेष्ठ भन्छन्, “सहकारी शेयर सदस्यको सहारा बन्न सक्नुपर्छ भन्ने मान्यताका साथ अघि बढ्दा मात्र सहकारी र सदस्यको प्रगति एकसाथ हुन्छ ।”
आदर्शले स्वास्थ्य सेवामा गरेको कार्य सम्भवत इलाममै पहिलो हो । संस्थाले सञ्चालन गरेको पोलिक्लिनिकमार्फत शेयर सदस्य मात्र होइन, आम नगरवासीले २४ घण्टा सेवा पाइरहेका छन् । एमबीबीएस डाक्टरद्वारा प्रदान गरिने जनरल फिजिसियन सेवाले स्थानीय स्तरमै स्वास्थ्य उपचारलाई सुलभ बनाएको छ ।

यति मात्र होइन, सहकारीहरूले सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै जोड दिएका छन् । नेपाल पत्रकार महासंघ इलाम शाखासँगको सहकार्यमा पत्रकार र उनका परिवारलाई ल्याब र भिडियो एक्स–रेमा १० प्रतिशत छुट दिने व्यवस्थाले सहकारीको सामाजिक भूमिका प्रष्ट पारेको छ । महासंघका अध्यक्ष भिम चापागाई भन्छन्, “सङ्कटको समयमा अग्रपङ्क्तिमा खटिने सञ्चारकर्मीका लागि सहकारीले गरेको यो सहयोग सराहनीय छ ।” सहकारीले अन्य सुविधाहरूमा पनि हात हालेको छ । हवाई सेवा ः आन्तरिक उडानमा पाँच सय र अन्तर्राष्ट्रिय उडानमा दुई हजार रुपैयाँसम्मको छुटको प्रवन्ध समेत गरेको श्रेष्ठले बताए । अस्पताल सहकार्य ः झापाको ओमसाई अस्पताललगायतका स्वास्थ्य संस्थासँगको सहकार्यमा २० प्रतिशतसम्म छुटको प्रवन्ध गरेको छ । डिजिटल पहुँचका लागि सहकारीले ‘एक घर एक ल्यापटप’ योजनामार्फत प्रविधिमा पहुँच बिस्तारको प्रयास गरेको छ ।
सहकारीले आफ्ना सदस्यको चाहनाअनुसार सुविधाका योजना ल्याएका छन् । सुनगाभा बचत तथा ऋण सहकारीले मार्ट सञ्चालनमा ल्याएको छ । अन्य सहकारीले पनि सहकारी पसलदेखि उद्योग प्रवद्र्धन सम्म सहयोग गरेको शाखा प्रमुख गुरुङ्ग बताउँछन् । कतिपयले जन्मदादेखि मृत्यु सम्मका सेवा प्याकेज चलाएका छन् । यसले सहकारीप्रति सदस्यको आकर्षण समेत बढाएको शेयर सदस्यहरु बताउँछन् ।
सरकारी नीतिको चेपुवामा सहकारी
सहकारीले अर्थतन्त्रमा पारेको सकारात्मक प्रभाव एकातिर छ भने अर्कोतिर नीतिगत अस्पष्टता र झमेलाहरूले सहकारी क्षेत्रलाई थप चिन्तित बनाएको छ । सुनगाभा बचत तथा ऋण सहकारीका अध्यक्ष गोपाल पौडेल भन्छन्, “सहकारीले सरकारको राजस्वमा पनि दह्राे भरथेग गरेको छ, तर सरकारी नीतिले सहकारीलाई निचोर्ने काम गरिरहेको छ ।”
उनको बुझाइमा, पटक–पटक परिवर्तन हुने र निचाेर्ने प्रकृतिका सरकारी नीतिले गर्दा कतिपय सहकारी सङ्कटमा परेका छन् । सहकारी ऐन, नियम र अनुगमनका क्रममा अपनाइने कठोर प्रशासनिक शैलीले सहकारीको गतिशीलतामा बाधा पु¥याएको सञ्चालकहरूको गुनासो छ ।

नेपालको संविधानले सहकारीलाई सार्वजनिक र निजी क्षेत्रसँगै राष्ट्रिय अर्थतन्त्रको तेस्रो खम्बाका रूपमा संवैधानिक मान्यता दिएको छ । विशेष गरी वित्तीय पहुँच नपुगेका सीमान्तकृत समुदायलाई आर्थिक मूल प्रवाहमा ल्याउन र उद्यमशीलताको विकास गर्न सहकारी अभियानले विगत दशकहरूमा उल्लेख्य भूमिका निर्वाह गरेको छ । सहकारीको मुख्य शक्ति यसको ‘सामुदायिक संरचना’ हो ।
नेपाल राष्ट्र बैङ्क र राष्ट्रिय सहकारी महासंघका तथ्याङ्कअनुसार, सहकारीले दुर्गम भेगमा समेत बचत तथा ऋणको सञ्जाल विस्तार गरी वित्तीय पहुँच बढाएका छन् । यसले परम्परागत साहु–महाजनको चङ्गुलबाट सर्वसाधारणलाई मुक्त गर्न सघाएको छ ।
सरकारी अध्ययन समितिहरुको निश्कर्ष छ– ‘स्थानीयस्तरमा सङ्कलित स–साना बचतलाई सोही क्षेत्रको कृषि, साना तथा मझौला उद्योगमा लगानी गर्ने अभ्यासले स्थानीय पुँजी निर्माणमा योगदान पु¥याएको छ ।’ स्वास्थ्य, शिक्षा र सरसफाइमा सहकारीको लगानीले ग्रामीण क्षेत्रमा सामाजिक सुरक्षाको आधार खडा गरेको छ । साथै, महिला सहभागिताले सहकारीलाई समावेशी बनाएको सरकारी तथ्याङ्कले देखाउँछ ।
यद्यपि, सहकारी क्षेत्रको तीब्र विस्तारसँगै यसमा देखा परेका विकृति र सुशासनको अभावले सिङ्गो अभियान नै सङ्कटमा परेको छ ।
‘सहकारी छानबिन विशेष समिति’ र विभिन्न अध्ययन प्रतिवेदनले सहकारीमा वित्तीय अपचलन, व्यावसायिक सुशासनको अभाव र घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा अस्वस्थ लगानी भएको देखाएका छन् । विशेष गरी बचतकर्ताको रकम हिनामिना र ऋण असुलीमा देखिएको अक्षमताले विश्वासको सङ्कट गहिरिएको छ ।
सङ्घीय संरचनामा सहकारीको नियमन र अनुगमन गर्ने संयन्त्र कमजोर छ । तीनै तहका सरकारबीच समन्वयको अभाव र अनुगमन गर्ने दक्ष जनशक्तिको कमीले समस्याग्रस्त सहकारीलाई समयमै सुधार गर्न नसकिएको विज्ञहरूको निष्कर्ष छ ।
सहकारीका सञ्चालकहरूमा राजनीतिक दलको प्रत्यक्ष संलग्नता वा संरक्षण रहने प्रवृत्तिले गर्दा गलत कार्य गर्नेलाई कानुनी कारबाही गर्न जटिलता थपिएको छ । राजनीतिक पहुँचका आधारमा ऋण प्रवाह हुने र त्यसको असुली नहुने समस्याले सहकारीहरू ‘तरलता सङ्कट’को चपेटामा परेका छन् ।
‘सहकारी ऐन, २०७४’ को कार्यान्वयनमा अस्पष्टता र स्थानीय तथा प्रदेश सरकारको नियमन क्षमतामा कमीले सहकारीलाई व्यावसायिक र पारदर्शी बनाउन बाधा पु¥याएको छ ।
इलाम नपामा सहकारीका लागि अझै पनि कृषि प्रशोधन, पर्यटन पूर्वाधार र डिजिटल अर्थतन्त्रमा ठूलो अवसर छ । यदि सरकारले सहकारीमैत्री नीति ल्याउने, अनुगमनलाई सहजीकरण गर्ने र व्यावसायिक तालिमहरू प्रदान गर्ने हो भने सहकारी क्षेत्रले इलामको आर्थिक विकासमा ‘गेम चेन्जर’ को भूमिका निर्वाह गर्न सक्छ ।
अमृता राईजस्ता सदस्यहरूको प्रगति र आदर्श बहुउद्देश्यीय जस्ता सहकारीको सिर्जनात्मक प्रयासले सहकारी केवल बचत गर्ने भाँडो होइन, यो त समुदायको सपना साकार पार्ने बलियो आधारशिला हो । सहकारीलाई ‘निचोर्ने’ होइन, ‘हुर्काउने’ नीति राज्यले अवलम्बन गर्न सक्ने हो भने इलामको समृद्धि टाढा छैन । सहकारी र सदस्यको यो सहयात्राले इलामलाई केवल सुन्दर पहाडी सहर मात्र नभई, एक आत्मनिर्भर र समृद्ध आर्थिक केन्द्रका रूपमा उभ्याउनेछ ।
प्रतिक्रिया