इलाम, असार १ : विपद् प्रतिकार्य तथा पूर्वाभ्याससम्बन्धी आठदिने तालिम सोमबारदेखि इलाममा सुरु भएको छ।
इलाम नगरपालिका, टेवा काठमाडौंको सहयोग तथा सहयात्रा नेपाल इलामको आयोजनामा सञ्चालन भइरहेको तालिम सशस्त्र प्रहरी बल नेपाल नं. १ गण हेडक्वार्टर अन्तर्गत श्री अन्तु गुल्म इलामको समन्वयमा आयोजना गरिएको हो।
तालिममा इलाम नगरपालिकाका सबै वडाका प्रतिनिधि, डिभिजन वन कार्यालय इलाम, नगर प्रहरी, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय युवा र महिलाहरूको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा ले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले विपद् व्यवस्थापनमा पूर्वतयारी नै सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो। विपद् आउनुअघि गरिने तयारीले जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले सुरक्षित समुदाय निर्माणका लागि स्थानीय सरकार, नागरिक समाज र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खड्का ले विपद् व्यवस्थापनलाई विकास योजनासँग एकीकृत गरेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले स्थानीय तहले विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै समुदायस्तरसम्म सचेतना विस्तार गरिरहेको जानकारी दिनुभयो।

सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी (गंगा) शिवा ले विपद् व्यवस्थापन सरकारी निकायको मात्र जिम्मेवारी नभई सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले समुदायमा ज्ञान, सीप र तयारी अभिवृद्धि गर्न यस्ता तालिम प्रभावकारी हुने उल्लेख गर्दै सुरक्षित तथा उत्थानशील समाज निर्माणका लागि निरन्तर सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।कार्यक्रममा इलाम नगरपालिका ८ का वडा अध्यक्ष दलमान तामाङ , इलाम नगरपालिका ९ का वडा अध्यक्ष गोपाल चौहान

तालिममा सशस्त्र प्रहरी बल इलामका प्रमुख केशवराज प्याकुरेल तथा इन्स्पेक्टर योङहाङ पतङवा ले विपद्का प्रकार, जोखिम न्यूनीकरणका उपाय, खोज तथा उद्धार, प्राथमिक प्रतिकार्य, समुदायस्तरको तयारी तथा विपद्का समयमा अपनाउनुपर्ने सावधानीका विषयमा सहजीकरण गरिरहनुभएको छ।

आठ दिनसम्म सञ्चालन हुने उक्त तालिमले सहभागीहरूलाई विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने आयोजकले जनाएको छ। इलाम नगर भित्रका प्रत्येक वडामा बिपद स्वयंसेवक तयार गर्ने सोचका साथ तालिम संचालन गरिएको जनाइएको छ ।
प्रतिक्रिया