भाइटीकामा दिदीबहिनीको चाहना–‘दाजुभाइको सुख, शान्ति र प्रगति’

दाजुभाइको सँधै सुख, शान्ति र प्रगति भएको देख्न चाहान्छु । यसपालिको तिहारको भाइटीकामा पनि यही कामना गरेँ । दाजभाइको खुशी हाम्रो पनि खुशी हो । उनीहरु तनावमुक्त रहुन् भन्ने चाहान्छु ।” स्याङ्जा माइती भएकी नवलपुरकी सरस्वती अर्यालको मन दाजुभाइलाई सप्तरङ्गी टीका र मखमली माला लगाइदिएपछि चङ्गा भएको छ । तिहार कसरी मनाउनुभयो भन्ने राससको प्रश्नमा अर्यालको जवाफ थियो, “यमराजले दाजुभाइलाई छुन नसकोस् भनेर ढोकामा तेल ठोकियो । फूल, प्रकृति र पशुपंक्षीको पनि पूजा गरियो । खुशीका साथ तिहार मनाइयो ।”

नेपाल मावि, नवलपुरकी शिक्षक अर्यालले करिव एक हजार ४०० आफ्ना विद्यार्थीमाझ नाँचगान गरेर देउसी–भैलो खेलेर रमाइलो गरेको पनि सुनाउनुभयो । सङ्कलित रकम गरिब र विपन्न समुदायका विद्यार्थीको पाठ्यसामग्री जुटाउन खर्च गर्ने उहाँको योजना छ । नयाँ पुस्ता र विद्यार्थीले चाड, पर्व र संस्कृतिलाई नर्बिसिउन् र आपसी सद्भावका साथ मनाइरहुन् भनेर उक्त विद्यालयले देउसी–भैलो खेलाएको थियो । प्रत्येक कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारलाई हरेक क्षेत्र र समुदायका मानिसले दिदीबहिनी र दाजुभाइका साथै पारिवारिक मिलन एवं सद्भावका रुपमा मनाउने गरेका छन् ।

अरुले झैँ सप्तरीको तिलाठी घर भई हाल काठमाडौँ बस्ने करुणा झाले पनि दुई भाइलाई टीका लगाएर तिहार मनाउनुभयो । राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाकी श्रीमती झाको अनुभवमा तराईको तुलनामा काठमाडौँमा मनाइने तिहारमा खासै भिन्नता देखिएन ।

कैलाली घर भई हाल काठमाडौँ निवासी चन्द्र साउद विगतका तुलनामा यस वर्ष राजनीतिक स्थिरता र शान्ति कायम भएका कारण दसैँ र तिहारमा सन्तोष मिलेको प्रतिक्रिया दिनुभयो । तालीम तथा रोजगार व्यावसायी महासङ्का अध्यक्ष साउदको बुझाइमा सामाजिक सद्भावमा प्रगति भएको र पट्का पट्काउने र अरुलाई हानी हुने गरी चाँड रक्सी खाएर सडकमा हिँड्ने प्रवृत्तिमा पनि सुधार आएकाले तिहार सुखद् भएको छ ।

किराँत धर्मका जानकार डा चन्द्रकुमार शेर्मा हिन्दू र किराँतीहरुको केही मिल्ने चाडपर्वमध्ये तिहार पनि परेकाले आफूले हिन्दू परम्पराकै शैलीमा भाइटीका मनाउँदै आएको बताउनुहुन्छ । किराँतहरुको चाडपर्वको मान्यताको आधारमा बेग्लै संस्कारसहित तिहार र चाडहरु कसरी मनाउने भन्नेबारेमा अध्ययन गरिरहेका उहाँ ‘बलिहाङ तङ्नाम तियाहा’ ग्रन्थ लेख्दै हुनुहुन्छ । दसैँमा जस्तो देवीदेवताका नाममा बली नदिइनुलाई सकारात्मकरुपमा लिने डा शेर्मा भन्नुहुन्छ, “हत्या, हिंसा र मारकाट नभई दियो, कलश र फूलमालाको प्रयोग हुनु तिहारको सुन्दर पक्ष हो । वामन राजाले राज्य जितेर पछि दानवीर भएर बलिहाङलाई राज्य फिर्ता गरेको इतिहासका सन्दर्भमा तिहारमा राँगा, खसी र बोकाको बली दिने प्रचलन नभएको देखिन्छ ।”

धार्मिक मान्यताअनुसार यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । तिहारकै अन्तिम दिन नेपाली समुदायको नेपाल संवत् पनि मनाइँदै आइएको छ ।