‘कोदोको रक्सी प्रवद्र्धनका लागि कानुनी बन्देज हटाउ’

‘कोदोको रक्सी प्रवद्र्धनका लागि कानुनी बन्देज हटाउ’

‘कोदोको रक्सी प्रवद्र्धनका लागि कानुनी बन्देज हटाउ’
इलामःघरेलु मदिरा (कोदोको रक्सी) प्रवद्र्धन र व्यवसायीक उत्पादनका लागि हाल रहेका कानुनी बन्देज हटाउनु पर्ने सरोकारवालाहरुले बताएका छन् ।
इलामको सूर्योदय नगरपालिकामा आइतबार परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समितिले आयोजना गरेको भेलामा उपस्थित सरोकारवालाहरुले घरेलु मदिराको रुपमा प्रयोग हुँदै आएको कोदोको रक्सीको उत्पादन र विक्रीमा हाल रहेको मदिरा ऐन २०३१ लगायतका कानुनी व्यवस्थाहरु वाधक रहेकाले बन्देज हटाउनका लागि नागरिक स्तरबाटै आवाज उठाउनु जरुरी रहेको बताए ।
सहभागिले परम्परागत घरेलु मदिरा प्रशोधन गरि बजारमा ल्याउन सके आम्दानीसँगै पहिचान समेत बढ्ने बताए ।
भेलामा प्रवद्र्धन समितिकी सदस्य सरस्वती सिङ्घकले कोदोको रक्सीका सम्भावना र अवसरका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यपत्र प्रस्तुत गर्दै सिङ्कले गाउँघरमा कोदो फलाउने र त्यसबाट रक्सी बनाउने गरिए पनि यसको महत्वलाई बुझेर सरकारले ठोस योजना बनाउन नसक्दा घरायसी प्रयोगमा मात्र सीमित भएको बताइन् ।
उनले प्रर्वद्धन समिति प्रदेश नं. १ ले कोदोको रक्सीका विषयमा प्रदेश सरकार, माननीय उषाकला राई र यससँग सम्बन्धित सरोकारवालाहरुसँग पटक–पटकको छलफल, अन्तरक्रिया गर्दै प्रदेश सरकारको योजनामा पार्न सफल भएको सुनाइन् ।
भेलामा बुद्धिजीवि देशु वनेमले स्वास्थ्यका दृष्टिकोणले कोदो गुणकारी भएको बताउँदै कोदोको रक्सीलाई ब्राण्डिङ गरि विश्व बजारमा पुर्याउन सके लाभदायी हुने बताए ।
उनले कोदोबाट रक्सीमात्र नभई स्वास्थ्यका लागि लाभकारी हुने विभिन्न खाद्य सामग्रीहरु समेत हुने हुँदा कोदो उत्पादनमा जोड दिन आवश्यक रहेको औल्याए ।
समितिका प्रदेश अध्यक्ष टेक बहादुर खजुम लिम्बुले आय आर्जनको बाटोको रुपमा सरकारले परम्परागत मदिराको प्रवद्र्धनमा काम गर्नुपर्ने बताए । उनले परम्परागत मदिरालाई व्यवसायीक उत्पादनको रुपमा विकास गर्न दवाव सृर्जना गर्न नागरिक स्तरमा समिति गठन गरेको बताए । उनले परम्परागत सिपको उपयोग गरेर सरकारले आयआर्जनमा नागरिकलाई परिचालन गर्नुपर्ने बताए ।
प्रदेश न १ का निर्वतमान सांसद काजीमान कागतेले परमपरागत मदिरा प्रवद्र्धन गरेर विदेशी रक्सीमा भइरहेको खर्च घटाउन सकिने बताए ।
सूर्योदय नगरपालिका ८ का वडा अध्यक्ष डम्बर गुरुङले परम्परागत मदिरा आदिवासी जनजातीको ज्ञानसीप र कलासंग जोडिएको विषय भइकाले स्थानीय सरकारले पनि समितिको अभियानमा साथ दिने बताए । कार्यक्रम कार्यक्रमकी संयोजक साधना फागोको सभापतित्वमा भएको थियो ।

सोही अबसरमा साधना फागोको संयोजकत्वमा अनिस याक्खा सदस्य सचिव रहेको १६ सदस्य परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन जिल्ला समिति इलाम गठन गरिएको छ । यस अघि झापा, मोरङ, सुनसरीमा समिति गठन भइसकेको समितिका प्रेस संयोजक दिपीन राईले जानकारी दिए । भेलाले रमेश राईको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ ।