इलाम : नेपाली कांग्रेसका इलाम क्षेत्र नं. १ का उम्मेदवार निश्कल राईले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, रोजगारी, सामाजिक न्याय र सुशासन समेटिएको विस्तृत तथा संरचनागत प्रतिबद्धता–पत्रसहित चुनावी मैदानमा छन् ।
उनले अघि सारेका कृषि ऐन, किसान वर्गीकरणसहितको परिचय पत्र र भूमिहीन तथा सीमान्तकृत किसानको अधिकार स्थापना जस्ता विषयलाई यस क्षेत्रमा हालसम्म कुनै उम्मेदवारले प्राथमिकतामा नराखेको नयाँ राजनीतिक एजेण्डाका रूपमा हेरिएको छ ।
राईले कृषि क्षेत्रलाई कानुनी संरक्षण र संस्थागत ढाँचाभित्र ल्याउन संघीयस्तरमा कृषि ऐन निर्माण तथा सुदृढीकरण पहल गर्ने घोषणा गरेका छन् । उनका अनुसार कृषि पेशालाई औपचारिक अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्न किसानलाई कानुनी हैसियत, सामाजिक सुरक्षा र उत्पादनको मूल्य सुनिश्चितता आवश्यक छ । त्यसका लागि किसानको दर्ता, उत्पादन अभिलेखीकरण र अनुदान वितरणलाई पारदर्शी बनाउने कानुनी व्यवस्था आवश्यक रहेको उनको तर्क छ ।
उनले इलाम–१ का सम्पूर्ण कृषकलाई वर्गीकृत किसान परिचय पत्र (किसान आईडी कार्ड) उपलब्ध गराउने योजना अघि सारेका छन् । यसअन्तर्गत व्यावसायिक किसान, साना किसान, सीमान्तकृत किसान, भूमिहीन किसान तथा महिला किसानलाई स्पष्ट रूपमा वर्गीकरण गरी अनुदान, बीमा, सहुलियत कर्जा, प्राविधिक सेवा र बजार पहुँचमा प्राथमिकता दिने व्यवस्था गरिने उल्लेख गरिएको छ । विशेष गरी भूमिहीन, सीमान्तकृत र महिला किसानको अधिकारलाई कृषि ऐनमै स्पष्ट प्रावधानसहित समावेश गराउन पहल गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।
प्रमुख नगदे तथा खाद्य बाली-चिया, अलैंची, आलु, दुग्ध र सुपारीका लागि न्यूनतम समर्थन मूल्य निर्धारण, मूल्य स्थिरीकरण कोष स्थापना तथा उत्पादन बीमा कार्यक्रम लागू गर्ने योजना पनि सार्वजनिक गरिएको छ । किसान उत्पादनलाई प्रशोधन र मूल्य अभिवृद्धिसँग जोड्न ‘इलाम कृषि औद्योगिक क्षेत्र’ स्थापना गर्ने, बीउ परीक्षण प्रयोगशाला, कोल्ड स्टोर, ग्रेडिङ तथा प्याकेजिङ केन्द्र निर्माण गर्ने र डिजिटल मूल्य सूचना प्रणाली सञ्चालन गर्ने कार्ययोजना घोषणापत्रमा समेटिएको छ ।
राई भन्छन्, ‘इलामको आवाजलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा स्थापित गर्नु नै मेरो मूल प्रतिबद्धता हो ।’ राईले कृषि, पर्यटन, डिजिटल सेवा आदि क्षेत्रमा युवा लक्षित प्रमाणपत्र र ‘सीपदेखि रोजगार’ कार्यक्रम लागू गर्दै स्वदेश फर्किएका युवालाई सीप मापन, तलबयुक्त अभ्यास र उद्यम÷रोजगारमा जोडिने विदेशबाट फर्केका युवाहरुका लागि उद्यम कार्यक्रमको व्यवस्था गर्ने उल्लेख गरेका छन् ।
युवा–उद्यम विकास प्लेटफर्म स्थापना गरी बैंक, सहकारी र बजारसँग समन्वयमा स्टार्टअप सिड ग्रान्ट, सुलभ कर्जा, कानुनी र व्यवसाय परामर्श, दर्ता तथा निर्यात सहजीकरण, युवा नेतृत्वमा व्यवसाय दर्ता छिटो र शुल्क कम गरिने व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धतामा उल्लेख गरेका छन् ।
रेमिट्यान्स लगानीमा सह–लगानी योजना, ब्याज छुट वा कर लाभ र विदेशी कार्य अनुभवलाई बैंकले उद्यम क्रेडिट योग्यतामा मान्यता दिने व्यवस्था पनि अघि बढाउन पहल गरिने उनको प्रतिवद्धतामा उल्लेख छ । ‘स्थानीय सरकारको सहकार्यमा गाउँस्तरीय नवप्रवर्तन र सहकार्य केन्द्र स्थापना गरी उच्च गतिको इन्टरनेट, डिजिटल उपकरण र व्यावसायिक सल्लाह उपलब्ध गराइनेछ’, राईले भनेका छन् ।
उनले युवा–नेतृत्वमा डिजिटल सेवा उद्यम (रिमोट वर्क, डिजिटल मार्केटिङ, पर्यटन मिडिया, ई–कमर्स) प्रवद्र्धन गरिने, ई–कमर्स र थोक बजारसँग प्रत्यक्ष उत्पादकदेखि खरिदकर्ताको माध्यम सिर्जना गरिने, निजी लगानी आकर्षित गर्न ‘इलाम–१ लगानी सम्मेलन’ आयोजना गरिने प्रतिवद्धता समेत जायर गरेका छन् ।
बहुउद्देश्यीय खेल मैदान, तालिम सुविधा र प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्दै पदकपछि बिर्सिने राज्य प्रवृत्ति अन्त्य गर्दै खेलाडीलाई छात्रवृत्ति, प्रशिक्षण, रोजगारी र मेन्टरशिपमार्फत खेल–अर्थतन्त्रमा जोडिने नीति लागू गरिने प्रतिबद्धतामा उल्लेख गरेका छन् ।
युवा नीति मञ्च र वार्षिक युवा विकास सभाहरूमार्फत युवालाई नीतिगत प्राथमिकता र परियोजनामा प्रत्यक्ष सहभागिता सुनिश्चित गरिने उनको प्रतिवद्धतामा उल्लेख छ ।
उनले पर्यटन र स्थानीय अर्थतन्त्रको विकासका लागि इलाम–१ लाई संघीयस्तरमा पूर्वी नेपाल पर्यटन सर्किटको हिस्सा बनाउने प्रस्ताव अघि बढाई चिया बगान दृश्यावलोकन, पहाडी ट्रेल, जैविकविविधताका क्षेत्र र सांस्कृतिक महत्वका क्षेत्रहरुलाई एकीकृत गरिने बताएका छन् । उनले अन्तर्राष्ट्रिय विमानस्थलका पर्यटन सूचना बोर्डहरु, विदेशस्थित नेपाली दूतावासका प्रचार सामग्री, ‘भिजिट नेपाल’ अभियान र विदेशी टुर अपरेटरहरुमा इलाम–१ का गन्तव्य समावेश गरिने उल्लेख गरेका छन् ।
प्रतिवद्धतामा चिया किसान तथा उद्योगहरूसँग सहकार्य गरी अवलोकन केन्द्र, चिया बगान भ्रमण मार्ग, टेस्टिङ केन्द्र, कारखाना भ्रमण, किसान–होमस्टे र चिया संस्कृति संग्रहालय समेटिएको ‘चिया पर्यटन क्लस्टर’ कार्यक्रम विकास गरिने समेत उल्लेख छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका संकेतकहरू, सुरक्षा चौकी, विश्रामस्थल र डिजिटल नक्सांकनसहित हिमाली पदमार्ग (ट्रेल) प्रणालीको विस्तार गरिने उनको प्रतिबद्धतामा उल्लेख छ ।
राईले रेडपाण्डा, काँडेभ्याकुर जस्ता दुर्लभ पशुपंक्षीहरू समेटिएको इको–पर्यटनलाई अनुसन्धान तथा विदेशी स्वयंसेवक कार्यक्रमसँग जोडि बसोबास, उद्धार केन्द्र र गाइड सेवासहित ट्रेलमा आधारित भित्री–तराईदेखि पहाडसम्मका ठाउँहरुलाई ट्रान्जिट हबमा विकास गरिन उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘स्थानीय युवालाई केन्द्रमा राख्दै ट्रेकिङ, माउन्टेन बाइकिङ, जङ्गल वक र सम्भाव्यता अध्ययनमा आधारमा रिसोर्ट, होमस्टे र स्थानीय सेवासँग जोडेर, प्याराग्लाइडिङ, रक क्लाइमिङ आदि जस्ता साहसिक पर्यटन सर्किटको विकास गरिनेछ ।’
होमस्टे प्रमाणीकरण तथा स्तरोन्नतिका लागि अनुदान प्रवन्धदेखि ट्रेल, पार्किङ र प्रवेश सेवा स्थानीय समूहले व्यवस्थापन गरी आम्दानी स्थानीयस्तरमै उपयोग गर्न मिल्ने सामुदायिक पर्यटन राजस्व मोडेलको प्रस्ताव गर्ने समेत उनको प्रतिवद्धतामा उल्लेख छ ।
उनले महिला र युवा नेतृत्वका पर्यटन उद्यमलाई विशेष अनुदान र तालिमको लागि पहल गरिनेछ । स्थानीय सरकारहरूको साझेदारीमा सामुदायिक सांस्कृतिक केन्द्र, संग्रहालय तथा वार्षिक रुपमा ‘इलाम सम्पदा तथा संस्कृति प्रवर्धन महोत्सव’ सञ्चालन गर्ने योजना बनाएका छन् ।
शिक्षा तथा सीप केन्द्र विकासका लागि इलाम–१ लाई प्राविधिक तथा सीप शिक्षा प्राथमिकता क्षेत्र घोषणा गरी संघीय अनुदानमा एक प्राविधिक संस्थान र मागअनुसार क्षेत्रगत (चिया, अलैंची-जडीबुटी, आतिथ्य, कृषि मेशिनरी आदि) सीप केन्द्र स्थापना गरिनेदेखि सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला, गणित (STEAM) शिक्षा जोडिने पाठ्यक्रम, शिक्षक डिजिटल प्रशिक्षण र विषयगत शिक्षक साझेदारी प्रभावकारी बनाउन सहकार्य र बजेटका लागि पहल गर्ने उल्लेख छ । स्थानीय सरकारसँग सहकार्यमा ‘भविष्य जनशक्ति विकास प्रयोगशाला’ कार्यक्रम सञ्चालन गरी इलामबाट अर्को पुस्ताका वैज्ञानिक र नवप्रवर्तक तयार गर्ने रचनात्मक कार्यक्रम समेत राईको प्रतिवद्धता पत्रमा परेको छ ।
उम्मेदवारले शिक्षा क्षेत्रलाई उत्पादन र बजारसँग जोड्ने योजना अघि सारेका छन् । प्रतिबद्धता पत्रअनुसार अब शिक्षण संस्थाको गुणस्तर मापन गर्न अनिवार्य ‘दुई–वर्षे शिक्षण नतिजा अडिट’ गरिनेछ । प्रधानाध्यापकहरूसँग नतिजामुखी कार्यसम्पादन सम्झौता गरिने र विद्यार्थीहरूको सर्वांगीण विकासका लागि नियमित परामर्श कार्यक्रम लागू गरिने उल्लेख छ ।
विशेष गरी ‘सीपदेखि–बजार’ कार्यक्रममार्फत सार्वजनिक अनुदान पाउनुअघि शिक्षण संस्थाहरूले रोजगार साझेदारीलाई अनिवार्य गर्नुपर्ने व्यवस्था गरिनेछ । इलामको पहिचान चिया र जैविक विविधतालाई ध्यानमा राख्दै विश्वविद्यालय र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको समन्वयमा ‘चिया, हिमाली कृषि तथा जैविक विविधता अनुसन्धान केन्द्र’ स्थापना गर्ने योजना निकै उत्साहजनक देखिन्छ ।
त्यस्तै, माइजोगमाई–सन्दकपुर क्षेत्रलाई ‘रेडपाण्डा र हिमाली पर्यावरण’ अनुसन्धानको हब बनाइनेछ । यस क्षेत्रलाई अन्तर्राष्ट्रिय विद्यार्थीका लागि फिल्ड–स्टडी क्षेत्रको रूपमा विकास गरी ग्रामीण नवप्रवर्तन प्रयोगशाला स्थापना गरिने प्रतिबद्धतामा उल्लेख छ । इलामको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन कृषि–प्रशोधन, दुग्ध, चिया र जडीबुटीमा आधारित साना औद्योगिक क्षेत्रहरूको विकास गरिने उम्मेदवारको योजना छ । सहकारी र साना तथा मझौला उद्यम का लागि मेसिनरी अनुदान र ’साना उद्यम ऋण ग्यारेन्टी योजना’ लागू गर्न पहल गरिनेछ, जसले गर्दा उद्यमीहरूले कम धितोमा ऋण प्राप्त गर्न सक्ने छन् ।
सहकारी क्षेत्रमा बढ्दो अनियमितता रोक्न पारदर्शिता, डिजिटल अडिट, र किसान भुक्तानीको डिजिटाइजेसनलाई अनिवार्य गरिनेछ। साथै, सितली, देउराली, नयाँबजार, फिक्कल र पशुपतिनगर जस्ता मुख्य बजारहरूलाई गुरुयोजना बनाएर व्यवस्थित सहरका रूपमा विकास गरिने लक्ष्य राखिएको छ ।
स्वास्थ्य क्षेत्रमा ’२४-७ सेवा’ को अवधारणा अघि सारिएको छ । संघ, प्रदेश र स्थानीय तहको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई प्रयोगशाला, प्रसूति र आपतकालीन क्षमतासहित स्तरोन्नति गरिनेछ । दुर्गममा काम गर्ने चिकित्सकका लागि विशेष प्रोत्साहन प्याकेज र टेलिमेडिसिन सेवा विस्तार गरिने प्रतिबद्धतामा उल्लेख छ ।
पछिल्लो समय जनस्वास्थ्यमा चुनौती बनेका मुटु रोग, मधुमेह, क्यान्सर र मानसिक स्वास्थ्य समस्याको स्क्रिनिङका लागि विद्यालय र समुदायस्तरमा कार्यक्रम चलाइनेछ। विशेष गरी जेष्ठ नागरिक र न्यून आय भएका परिवारका लागि स्वास्थ्य बीमा र निःशुल्क जाँच अभियानलाई तीव्रता दिइनेछ ।
पूर्वाधार विकासमा उम्मेदवारले वैज्ञानिक पद्धति अपनाउने बताएका छन् । उनका अनुसार पहिलो वर्षमै फिल्ड भेरिफिकेशन गरी प्राथमिकताका आधारमा योजना छनोट गरिनेछ । रणनीतिक चक्रपथ, तराई, पहाड जोडेने सडक, बैकल्पीक सडकहरु निर्माणको योजना पनि प्रतिबद्धता पत्रमा छ ।
पशुपतिनगर नाकामा भारततर्फ अध्यागमन कार्यालय स्थापना गर्न कूटनीतिक पहल गर्ने र कृषि निर्यातका लागि क्वारेन्टाइन सुविधाहरू सुदृढ गर्ने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ । उच्च प्रयोग हुने ग्रामीण सडकलाई ’बायो–इन्जिनियरिङ’ सहित बाह्रै महिना चल्ने बनाइने र कृषि उत्पादन संकलनका लागि ’हाटबजार स्टल’ निर्माण गरिनेछ ।
महिला नेतृत्वका उद्यमहरूलाई विशेष वित्तीय सहायता र उपकरण अनुदान दिने योजना अघि सारिएको छ। एकल महिला, अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यक समुदायका लागि लक्षित सीप प्याकेज ल्याइने उल्लेख छ । आजको डिजिटल युगमा बढ्दो अनलाइन ठगी र सामाजिक सद्भावमा आँच आउने क्रियाकलाप रोक्न उम्मेदवारले ‘सतर्क बसौँ, सम्मान गरौँ, सकारात्मक सोचको विकास गरौँ’ भन्ने अभियानको घोषणा गरेका छन् । यसले समाजमा जिम्मेवार डिजिटल संस्कृतिको निर्माण गर्ने विश्वास लिइएको छ।
सुशासन र जवाफदेहिताको नयाँ मोडल
राजनीतिमा पारदर्शिताको कमी महसुस गरिरहेका मतदाताका लागि उम्मेदवारले ‘प्रतिबद्धता ट्रयाकिङ ड्यासबोर्ड’ को अवधारणा ल्याएका छन् । गैर–दलीय विज्ञ सल्लाहकार समूहको गठन गर्ने, हरेक ६ महिनामा बजेट कार्यान्वयनको अवस्था सार्वजनिक सुनुवाइमार्फत जानकारी दिने, ठेक्कापट्टामा प्रगतिसूचकका आधारमा प्रतिवेदन प्रणाली लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
संघीय नीति र सेवा प्रणालीमा प्रभावकारी उपस्थिति
संघीय संसदमा युवा पुस्ताको भावना समेट्ने गरी संविधान संशोधनका लागि वकालत गर्ने र शिक्षकहरूको सेवा सुविधा निजामती कर्मचारी सरह बनाउन शिक्षा विधेयकका लागि पहल गर्ने प्रतिबद्धता उम्मेदवारको छ । सार्वजनिक खरिद ऐनमा सुधार गरी गुणस्तरका आधारमा निर्माण व्यवसायी छनोट गर्ने प्रणालीका लागि दबाब दिइनेछ ।
आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग सिधै जोडिन इलाममा स्थायी सम्पर्क कार्यालय र काठमाडौँमा समन्वय कार्यालय स्थापना गरिने छ । नागरिकका गुनासाहरूलाई ’डिजिटल टिकट’ प्रणालीमार्फत व्यवस्थापन गरिने र व्यक्तिगत सांसद कोषको एक हिस्सा शिक्षा र सीप विकासमा खर्च गरिने राईले घोषणा गरेका छन् । ‘मलाई भाषणले होइन, मापनयोग्य नतिजाले मूल्याङ्कन गर्नुहोस्’, राईको प्रतिबद्धतामा उल्लेख छ ।
अन्नपूर्ण बाट
प्रतिक्रिया