इलाम २२ माघ:इलाममा एचपिभि खोप अभियान आगामी माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ ।
जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाउने लक्ष्यित समूह २ हजार १४३ जना रहेकोे स्वास्थ कार्यलय इलामले बिहीबार आयोजना गरेको पत्रकार संग अन्तर्किया कार्यक्रममा जानकारी दिएको हो ।
उमेरसमुहका कोही पनि नछुटुन् भन्ने उद्देश्यसहित स्वास्थ्य कार्यालय इलामले सरोकारवाला सङ विभिन्न चरणमा अभिमुखीकरण तथा अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ ।
जिल्लाका दशै पालिकाका शिक्षा तथा स्वास्थ्य शाखाका प्रमुख एवं प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको स्वास्थ कार्यलय इलामका खोप निरीक्षक गंगाधर पण्डितले बताउनुभयो ।
अभियान अन्तर्गत विद्यालय तथा स्वास्थ्य संस्था मार्फत खोप प्रदान गरिने छ ।जिल्लाम ३ सय ३९ खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियान कार्यक्रममा ३ सय ३९ जना स्वयंसेवक परिचालन गरिएको छ भने १ सय १६ जना अनुगमनकर्ता तोकिएको छ ।
गत बर्ष इलाम जिल्लामा एचपिभि खोप अभियानमा ९ हजार ६ सय ८९ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी ९ हजार ६ सय ९८ जनाले खोप लगाएको स्वास्थ कार्यलयको तथ्यांक रहेको छ । विगतका अभियान सफलता पुर्वक सम्पन्न भएकाले यस वर्ष पनि उच्च सहभागिता हुने अपेक्षा रहेको स्वास्थ्य कार्यालय इलामका खोप निरीक्षक गंगाधर पण्डितले बताउनुभयो ।
एचपिभि खोप पाठेघरको मुखको क्यान्सर गराउने भाइरसबाट बचाउन लगाइने खोप हो । पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरहरू मध्ये एक हो ।
एचपीभी खोप समयमै लगाएर धेरै हदसम्म क्यान्सर रोक्न सकिने चिकित्सकहरु बताउछन् । यो खोप मुख्यत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लगाइन्छ । यौन सम्पर्क सुरु हुनु अघि लगाइएमा खोप अझ प्रभावकारी हुने चिकित्सकहरूको भनाई छ । एचपिभि खोप सुरक्षित, प्रभावकारी र विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ ) ले सिफारिस गरेको खोप हो । यसले भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम उल्लेख्य रूपमा घटाउने विश्वास गरिएको छ ।स्वास्थ्य कार्यालय इलामले सरोकारवालाहरूलाई खोप अभियानमा सहयोग गर्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया