logo
  • २०८२ आश्विन २३ | Thu, 09 Oct 2025
  • शक्ति पीठ “पञ्चकन्या”मा १७ वर्षपछि फेरी फकिएको रौनक

    शक्ति पीठ “पञ्चकन्या”मा १७ वर्षपछि फेरी फकिएको रौनक


    सूर्योदयःइलामको सूर्योदय नगरपालिका–११ मा अवस्थित पञ्चकन्या मन्दिरमा १७ वर्षपछि फेरी नेपाली सेनाले फुलपातीको अवसरमा पूजा–अर्चना र सलामी अर्पण गरेको छ ।
    नेपाली सेनाको रणशार्दुल गणका लेफ्टिनेन्ट अमृत साउदको नेतृत्वमा सदरमुकाम इलामबाट आएको सेनाको टोलीले सोमबार विहान ७ बजेर १७ मिनेटमा मन्दिर परिसरमा पूजा–अर्चना र सलामी अर्पण गरेको हो ।
    दुई सय पाँच वर्षअघिदेखि स्थापना भएको मन्दिरमा हरेक वर्ष नेपाली सेनाले पूजा–अर्चना गर्ने परम्परा थियो। तर देशको राजनीतिक परिस्थितिका कारण पञ्चकन्या मन्दिरमा फुलपातीको अवसरमा पूजा–अर्चना रोकिएको थियो।
    सो अवसरमा स्थानीयहरूले नौमती बाजासहित मन्दिरको परिक्रमा गरेका थिए । पञ्चकन्या मन्दिर व्यवस्थापन तथा विकास समितिका अध्यक्ष भिष्म प्रधानले भने, “सेनाको सलामीसँगै पञ्चकन्यामा राखिएको आस्था पुनः जोडिएको छ। यसले निरन्तरता पाउनुपर्छ ।”


    स्थानीय तारानाथ शर्माले पञ्चकन्या र सेनाको सम्बन्ध सुगौली सन्धीअघिदेखि नै जोडिएको बताएका छन् । उनले भने, “यस मन्दिरले व्यक्तिको मनोकामना समेत पूरा गर्ने गर्दछ ।”
    समितिका उपाध्यक्ष दुर्गामान राईका अनुसार, पञ्चकन्या मन्दिर धार्मिक आस्थाका साथै आशा र चमत्कारको प्रतीकका रूपमा पनि प्रसिद्ध बन्दै गएको छ । फिक्कल बजार नजिकै मेची राजमार्गको छेउमा रहेको यो पवित्र स्थल प्रत्येक वर्ष हजारौँ भक्तजनका लागि दर्शन, ध्यान र आत्मिक शान्तिको गन्तव्य बन्न पुगेको छ, समितिकी कोषाध्यक्ष प्रमिला मोत्तानले बताइन् ।
    ‘पञ्चकन्या’ शब्द स्वयंमा पाँच देवी — द्रौपदी, तारा, मञ्जु, कुन्ती र पार्वती — प्रती श्रद्धाको प्रतीक हो । यस मन्दिरमा दर्शन र पूजा गरेपछि मनोकामना पूरा हुने र विशेष गरी बोल्न, सुन्न वा हेर्न नसक्ने बालबालिकामा चमत्कारिक सुधार देखिने विश्वास स्थानीय समुदायमा आज पनि ज्यूँदो छ ।


    हरेक वर्षको नवरात्र, शिवरात्रि लगायतका अवसरमा यहाँ विशेष पूजापाठ र आयोजना हुने गर्छ । धार्मिक विश्वासका साथै मन्दिर परिसरको हरियाली, चिडियाहरूको मधुर आवाज र शान्त वातावरणले यहाँ आउने जो कोहीलाई आत्मिक सन्तोष प्रदान गर्दछ ।
    स्थानीय भक्तजनहरूका अनुसार, पञ्चकन्या मन्दिरमा आउने श्रद्धालुहरू केवल धार्मिक कारणले मात्र होइन, जीवनमा नयाँ ऊर्जा र प्रेरणा खोज्न पनि आउँछन् । समितिका सचिव ज्योती अधिकारीले भने, “यो मन्दिरमा आएको बेलादेखि नै जीवनमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाउने भक्तजनहरू आउँछन् ।”
    पछिल्लो समय मन्दिर परिषदमा विश्वकर्मा बाबा, गणेश लगायतको मन्दिर स्थापना, विश्राम स्थल, सौचालय लगायतका काम सम्पन्न भएको उपाध्यक्ष राईले जानकारी दिए ।


    धार्मिक महत्वसँगै पञ्चकन्या मन्दिर इलाममा पर्यटन र स्थानीय अर्थतन्त्रको केन्द्रका रूपमा पनि विकास हुँदैछ । पारिवारिक भ्रमण र ध्यान साधनाका लागि यो स्थान उत्तिकै लोकप्रिय बनेको छ ।

    आस्था, संस्कृति र प्रकृतिको अनुपम संगम बनेको पञ्चकन्या मन्दिर आज न केवल इलामवासीहरूको गर्व बनेको छ, बरु सम्पूर्ण पूर्वी नेपालको धार्मिक पर्यटन नक्सामा एक प्रमुख गन्तव्यका रूपमा चिनिन थालेको छ।
    यसैबीच,फूलपातीको अवसरमा इलाम सदरमुकामस्थित माईथान मन्दिरमा पनि फूलपाती भित्राउने काम सम्पन्न भएको छ ।




    निगरानी    
  • २०८२ आश्विन १३, सोमबार १३:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP