बर्दिया १२ जनाकाे खाेजी

बर्दिया १२ जनाकाे खाेजी

बर्दिया। बर्दिया जिल्लासँग सिमा जोडिएको कैलालीमा शनिवार दुई जना र कन्चनपुरमा एक व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएपछि बर्दियामा थप उच्च सतर्कता अपनाइएको छ।

बर्दियासँग सीमा जोडिएको कैलालीको सबै सीमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। कैलालीको टिकापुर सीमासंग जोडिएको नाका पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण अधिकारीले बताए। 

कैलाली जिल्लासंग बर्दियाको राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा जोडिएको छ। कैलालीसँग प्रत्यक्ष सिमा जोडिएको राजापुरको सत्तिघाट, गेरूवा गाउँपालिकाको दौलतपुरघाट र ठाकुरबाबा नगरपालिकाको चिसापानी सडक सवै बन्द गरिएको प्रशासनले जनाएको छ।

यसैबीच भारतबाट फर्किएका छिमेकी जिल्लाका युवामा कोरोना संक्रमित देखिए पछि जिल्लाको जनजीवन थप प्रभावित हुने देखिएको छ। कैलालीमा कोरोना संक्रमितसंगै नेपाल प्रवेश गरेका मध्ये बर्दियाका १२ जना स्थानीय रहेको सूचना पाए पछि प्रहरीले ति १२ जनाको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 

आइतबारदेखि लागु हुने गरी प्रशासनले थप कडाई गर्दै खाद्यान्न पसलहरु दैनिक ३ घण्टा ११ बजे देखी २ बजे सम्म मात्र खोल्ने जानकारी दिएको छ।