इलाम: विधान विपरित नेपाल महिला संघको नाममा “उदण्डता” बढेको भन्दै नेपाल महिला संघ इलामका महिला नेतृहरुले विरोध गरेका छन् ।
विधानको भावना विपरित जिल्लामा अधिवेशनबाट आएको जिल्दा देखि वडा सम्मको समितिका पदाधिकारीलाई बरिष्ठताको आधारमा महिला संघको जिल्ला नेतृत्व दिने नेपाली कांग्रेस केन्द्रिय समितिको निणर्य विपरीत महिला संघको संरचनामै नरहेकी भगवती कोइरालालाई सभापति ल्याएपछि विधि विपरितको कदमका विरुद्धमा महिला नेतृहरु एक भएका हुन् ।
विधान र केन्द्रिय सहमती अनुसार पदाधिकारीको बरिष्ठतम क्रममा बबिता लिङ्दमले सभापति पाउने भएपनि कोइरालालाई सभापति बनाएपछि उनले क्षेत्रमा समेत आफु जस्तै संरचनामै नरहेको व्यक्तिलाई सभापति मनोनीत गरेकी छन् । उनले जिल्ला कार्यसमिति समेत त्यही रुपमा बनाएको अगुवा महिला नेतृहरूले बताएका छन् ।
महिला संघ इलाममा बरियताले सभापति बनेकी बबिता लिङ्गदमको नेतृत्वमा इलाम सदरमुकाममा मंगलबार भएको भेलाले महिला संघका नाममा भएको उदण्ड गतिविधि रोक्न नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको ध्यानाकर्षण गराएको छ ।
संघको जिल्ला समितिकी सभापति बबिता लिङ्दमले भेला पछि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिमा बुझाएको ध्यानाकर्षण पत्रमा भनेकी छन् “नेपाल महिला संघको हाल सम्म अधिवेशन नभै रहेको अवस्थामा हाल नेपाल महिला संघ जिल्ला कार्य समितिको गठन प्रकृया नेपाल महिला संघको विधान विपरित भपएको ठहर गर्दै नेपाल महिला संघको नाममा भई रहेको अवैधानिक गतिविधि र कार्यक्रम तुरुन्त रोकेर विधान सम्मत प्रकृया बढाउन नेपाली काँग्रेस जिल्ला कार्यसमिति इलामलाई अनुरोध गर्दछु।”
उनले अबैधानीक गतिविधि तथा कार्यक्रम दुईदिन भित्रमा नरोकिएमा विधान अनुसार नेपाल महिता संध जिल्ला कार्य समिति गठन गरी अघि बढ्ने समेत जानकारी गराएकी छन् ।
भेलामा महिला संघकी नेतृहरू विष्णु दहाल, हरिकला श्रेष्ठ, चन्द्रकला राई लगायतको उपस्थिति रहेको थियो ।
लिङ्दमले आफू नेपाल महिला संघको बैधानिक अध्यक्ष दावी गर्दै अर्को समूहलाई महिला संघको नाममा अनधिकृत काम नगर्न यस अघि नै चेतावनी दिएकी छन् ।
एक बर्ष अघि देखि महिला संघमा देखिएको विवाद अहिले पनि हल भएको छैन ।
जिल्लामा काङ्ग्रेसका हिमालय कर्माचार्यको अग्रसरतामा विवादका विचमा समिति गठन शुरू गरेपछि महिलाहरूमा फाटो ल्याउने खेल शुरू भएको भन्दै सो कदम रोक्न ध्यानाकर्षण गराएको लिङ्दमले बताइन् ।
संघकी जिल्ला अध्यक्षको लिङ्दमले भनिन् ” नेपाल महिला संघ इलामको नामबाट अनधिकृत रुपमा क्षेत्र र पालिका स्तरमा समिति गठन हुन थालेको अपुष्ट जानकारी प्राप्त भएको प्रति गम्भीर ध्यान आकर्षण भएको छ, यसरी विधान विपरीत हुने कियाकलाप मान्य नहुने कुरा सम्बन्धित सबैमा स्मरण गराउँन चाहन्छु ।”
उनले यस प्रकारको अवैधानिक गतिविधिले नेपाल महिला संघ र मातृ संस्था नेपाली कांग्रेसलाई नै क्षति पुग्ने कुरामा सबैले सचेत र जिम्मेवार बन्न आग्रह गरेकी छन् । उनले नेपाल महिला संघ केन्द्रीय समिति, नेपाली कांग्रेस पार्टी, भातृ,शुभेच्छुक संघहरू सहित नेपाली काङ्ग्रेसको जिल्ला कार्यसमिति सहित सबै संरचनालाई पार्टी नेता सहितको संलग्नतामा भइरहेको गतिविधि प्रति चनाखो रहन समेत आग्रह गरेकी छन् ।
उनले भनिन् ” बैधानिक प्रकृया बाहिर रहेर गर्ने कुनै पनि गतिविधि स्विकार्य हुँदैन ।
लिङ्दमले महिला संघ इलामको अघिल्लो अधिवेशनपछि विधानअनुसार अधिवेशनको प्रकिया अगाडि बढाउने दावित्व अघिल्लो अधिवेशनले गठन गरेको समितिकै भएको प्रष्ट पारेकी छन् । इलाममा जिल्ला कार्यसमितिलाई पाखा लगाउँदै केन्द्रीय कार्यसमितिले “गुट नजिकको मान्छेलाई” संघको जिल्ला अध्यक्ष बनाएपछि विधि मिचिएको भन्दै संघकी सचिव लिङ्दमको नेतृत्वमा पुरानै समितिलाई सकृय बनाइएको छ ।
नेपाल महिला संघको विधान २०५८को पछिल्लो २०६९ मा भएको थियो । सो विधानको धारा ४०(५)मा जिल्ला, क्षेत्र, गाउँ, नगर तथा नगर वडाका अध्यक्ष पद मृत्यु वा राजीनामाको कारणले रिक्त हुन गएमा सम्बन्धित समितिका उपाध्यक्ष कार्यवाहक अध्यक्ष हुने उल्लेख छ । विधानमा भनिएको छ “उपाध्यक्ष नभएको अवस्थामा सम्वन्धित कार्यसमितिले कार्यवाहक अध्यक्षको चयन गर्नेछ। यसरी रिक्त हुन आएको अध्यक्ष पदमा ६ महिना भित्र विधान बमोजिम निर्वाचन गरी पदपूर्ति गरिनेछ । महाधिवेशन तोकिएको अवस्थामा वा ६ महिना भित्र महाधिवेशनको मिति तोकिएकोमा अध्यक्षका लागि अलग्गै निर्वाचन गर्नु पर्नेछैन ।”
लामो समय देखि महिला संघको अधिवेशन हुन सकेको छैन ।
महिला संघ अध्यक्षले १२ जिल्ला अध्यक्ष हटाएको भन्दै संघको विधानको धारा ३८ मा भएको स्पष्टीकरणको मौकासमेत नदिई निगाहका भरमा जिल्लाहरूमा नयाँ अध्यक्ष तोकिए पछि विवाद चुलिएको हो ।
महिला संघका २० केन्द्रीय सदस्यले अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग गरे संगै महिलाहरू दुई खेमामा विभाजित छन् । उषा राउत समूह इलाममा पनि शक्ति प्रदर्शनको शैलीमा उत्रिए पछि महिला नेतृहरूमा मनमुटाव बढेको हो ।
महिला संघमा गत बर्ष जेठ ३० गते ५२ सदस्य समिति बनेको थियो । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उषा राउत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ५२ जना सदस्यलाई मनोनयन गरेका थिए। यसको समय अवधि काङ्ग्रेसको विधान अनुसार ६ महिना अघि नै सकिएको छ ।
त्यसो त सभापति देउवाले संघको अध्यक्षमा उषा राउत मनोनीत गरेको करिब एक वर्षपछि तदर्थ समिति बनाएका थिए। राउत महिला संघकै निवर्तमान सचिव पनि हुन्। मंगलादेवी सिंह संस्थापक अध्यक्ष रहेको महिला संघमा यसअघि उमा रेग्मी अध्यक्ष थिइन्।
संघकी अध्यक्षले विधानविपरीत १२ जिल्लाको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई बर्खास्त गरेर देउवा समूहका महिलाहरूलाई अध्यक्ष मनोनीत गरेको आरोप छ । महिला संघको विधान महाधिवेशन गर्ने जिम्मा पाएको नेतृत्वले धमाधम जिल्ला नेतृत्वलाई हटाउन थालेपछि केन्द्रीय नेतृत्वले गलत बाटो समातेको भन्दै चर्को विरोध शुरू भएको एक बर्ष पुगिसकेको छ ।
अध्यक्ष राउतले सोलुखुम्बुका अध्यक्ष छिल्हामु शेर्पा, बारा अध्यक्ष सीता मैनाली, पर्साका अध्यक्ष विद्या श्रेष्ठ, सिरहा सभापति विमला निरौला, ताप्लेजुङ अध्यक्ष मीना गुरुङ, इलाम अध्यक्ष निर्मला सञ्जेल, महोत्तरी अध्यक्ष वीना तिवारी, रौतहट अध्यक्ष भुवनी गिरी, कास्की अध्यक्ष कोपिला रानाभाट, झापा सभापति सुशीला ढकाल र हुम्ला सभापति विजया बुढालाई हटाएकी थिइन् ।
अध्यक्ष राउतले कास्कीको महिला संघ अध्यक्षमा मीना पाण्डे, नवलपरासी बर्दघाट पश्चिम अध्यक्षमा तारादेवी भण्डारी, झापा अध्यक्षमा टीका मैनाली सिटौला, हुम्ला अध्यक्षमा सुशीला शाहलाई मनोनीत गरेकी थिइन्।
साथै ताप्लेजुङ अध्यक्षमा गीता चौहान, इलाम अध्यक्षमा भगवती कोइराला, रौतहट अध्यक्षमा अञ्जु झा, महोत्तरी अध्यक्षमा अनिता शर्मा, सोलुखुम्बु अध्यक्ष सरला नाछिरिङ राई, सिरहा अध्यक्ष संगीताकुमारी चौधरी, बारा अध्यक्ष कलावतीदेवी पासवान, पर्सा अध्यक्ष किरणकुमारी शर्मालाई मनोनीत गरेकी थिइन् ।
प्रतिक्रिया