सूर्योदय : इलामको सूर्योदय नगरपालिका वाड न ८ मा सात दिने महिलालाई उद्घोषण तालिम बुधबार सम्पन्न भएको छ ।
महिलाहरुको क्षमता विकास गर्ने उदेश्य सहित सूर्योदय नगरपालिका वाड न ८ ले आयोजना गरेको तालिम समापन अवसरमा सूर्योदय नगरपालिकाका उपमेयर दुर्गा कुमार बरालले सूर्योदय नगरपालिकाले पुर्वाधार विकास सहित क्षमता विकासको कार्यक्रम समेत अघि बढाएको बताए ।
उनले भने ‘नगरपालिकाले अब नागरिकलाई आर्थिक विकाससंग जोडने क्षमता विकासका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।’
वडा अध्यक्ष जंगबहादुर गुरुङले महिलाहरुको क्षमता विकास गर्ने उदेश्यले वडाले क्षमता विकासका कार्यक्रम अघि सारेको बताए ।
वडा सदस्य कमल गड्तौलाले तालिमले सहभागिहरुमा आत्माविश्वास थपेको बताए । उनले भने ‘अघि आउन हिचकिचाउनेहरु निर्धक्क बोल्न अघि आउन थाल्नु भएको छ, तुलनात्मक रुपमा अरु भन्दा यो तालिम प्रभावकारी देखिएको छ ।’
सहभागि मुना पौड्यालले तालिमले हिम्मत बढेको बताइन् । उनले भनिन् ‘कहिलै माइक्रोफोन नसमातेका पनि तालिममा सहभागि थियौ, तालिमले हिम्मतसंगै उत्सुक्ता पनि थपेको छ ।’
सहभागि मनमाया लाप्चाले सात दिनमा तालिमले प्रभावकारी रुपमा आफ्नो कुरा राख्न सक्ने बनाएको बताइन् । उनले भनिन् ‘शुरुमा डराउथ्यौ, अब त्यो डर हराएर केहि गरौ भन्ने उर्जा थपिएको छ ।’
सहभागि मुना ढकालले थप क्षमता विकासका तालिम समेत महिलाहरुलाई आवश्यक रहेको बताइन् ।
तालिममा पत्रकार केदार शर्मा, उमाकान्त खनाल, विजयशेखर भट्टराई र तोयानाथ भट्टराईले सहजिकरण गरेका थिए । जेष्ठ २ देखि शुरु भएको तालिममा २९ महिलाको सहभागिता रहेको वडा सचिव इश्वर पौड्यालले जानकारी दिए ।
प्रतिक्रिया