logo
  • २०८३ श्रावण २९, शुक्रबार | Fri, 14 Aug 2026
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा इलाममा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    • निगरानी
    • २०८३ श्रावण २७, बुधबार २३:४२ गते
    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा इलाममा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    इलाम । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल परिवार नियोजन संघ इलाम शाखाले बुधबार ‘ भिन्न परिवेश, साझा आकांक्षा’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ।
    प्रतियोगितामा इलाम नगरपालिका वडा नम्बर ५, ६, ७ र ९ का एक–एक माध्यमिक विद्यालयबाट गरी ७ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा प्रज्ञा सदन इङ्लिस बोर्डिङ स्कुलकी दीक्षा भट्टराई प्रथम, आदर्श माध्यमिक विद्यालयका सुदीप सापकोटा दोस्रो र अमर माध्यमिक विद्यालयका सेवन्त आचार्य तेस्रो भएका छन्। विजेता तीनै जनालाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।


    प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बदलिँदो सामाजिक परिवेश, युवाका अवसर तथा चुनौती र समाज रूपान्तरणमा युवाको भूमिकालगायत विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।
    कार्यक्रममा इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष दलमान तामाङ, नेपाल पत्रकार महासंघ इलाम शाखाका सचिव टिका खतिवडा , अमर माविका प्रधानाध्यापक रोमनाथ शर्मा, भगवती माविका प्रधानाध्यापक डोरकुमार पौडेल, युवा समिति  नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य सुनिता राई लगायतले मन्तव्य राख्नुभएको थियो।


    कार्यक्रममा नेपाल परिवार नियोजन संघ इलाम शाखाले सञ्चालन गर्दै आएका तथा आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमबारे नेपाल परिवार नियोजन संघ इलामकी प्रमुख प्रमिला गौतमले जानकारी गराउनुभएको थियो।
    देवीप्रसाद गौतमको संयोजनमा गठित निर्णायक मण्डलले प्रतियोगिताको मूल्याङ्कन गरेको थियो। कार्यक्रम नेपाल परिवार नियोजन संघ इलाम शाखाका अध्यक्ष पूर्णप्रसाद गौतमको अध्यक्षता तथा इलाम नगरपालिकाकी प्रमुख विष्णुकुमारी दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।


    नेपालमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, परिवार नियोजन तथा मातृ–शिशु स्वास्थ्य क्षेत्रमा काम गर्ने सामाजिक संस्था हो। संघले व्यक्तिलाई आफ्नो स्वास्थ्य र परिवारसम्बन्धी निर्णयका लागि आवश्यक जानकारी, परामर्श र स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्छ।अन्तर्राष्ट्रिय युवा दिवस प्रत्येक वर्ष अगस्ट १२ मा मनाइन्छ।



    निगरानी    
  • २०८३ श्रावण २७, बुधबार २३:४२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP