सूर्योदय नगरमा स्थानीय पाठ्यपुस्तक लोकार्पण

सूर्योदय नगरमा स्थानीय पाठ्यपुस्तक लोकार्पण

इलाम , चैत १५ ।
इलामको सूर्योदय नगरपालिमा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो सूर्योदय’ मंगलबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । फिक्कल माध्यमिक विद्यालयमा भएको कार्यक्रममा पाठ्यपुस्तक लोकार्पण गरिएको हो । नगरले गत वर्ष कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम सार्वजनिक गरेको थियो । सोही आधारमा तयार गरिएको कक्षा ५ सम्मको पुस्तक सार्वजनिक गरिएको हो। कक्षा ६ देखि ८ सम्मको पुस्तक लेखन अघि बढाइएको छ। करिब ३ वर्ष लगाएर विज्ञ समूले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षासम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी तयार गरेको पाठ्यक्रममा आधारित रहेर पुस्तक लेखिएको थियो। पुस्तकमा सूर्योदय नगरपालिकाको चिनारी, स्थानीय धार्मिक स्थल, विविध जातजाति, स्थानीय चाडपर्व, स्थानीय भाषा, स्थानीय खानेकुरा, स्थानीय पर्यटन, स्रोत तथा साधनलगायत विषयवस्तु समेटिएका छन्। पुस्तकमा बालबालिकाले विद्यालयको आधारभूत तहमा स्थानीय जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारका नीतिगत व्यवस्थादेखि नगरपालिकालाई समृद्ध बनाउनेसम्मका विषयसमेत समेटिएका छन्। आधारभूत तहको ८ सय पूर्णाङ्कमध्ये १ सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधानअनुसार नगरपालिकाले पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार पारेको हो।

लोकार्पण कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य टिकाराम सुब्बाले सूर्योदय नगरपालिकाले ऐतिहासिक काम गरेकोमा धन्यवाद दिनु भयो । विगतमा यसै क्षेत्रका विद्यालयहरुबाट उदाएका ब्यक्तिहरु आज विज्ञ बनेको बताउँदै आजका बालबालिका भोलिको कर्णधार बन्ने बताृउनु भयो । शैक्षिकस्तर उन्नतिका लागी शिक्षक,विद्यार्थी,जनप्रतिनिधी र अभिभावक सबैको भुमिका बराबर हुने भएकाले जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ । साहित्यकार स्व डा तारानाथ शर्मा लगायत बौद्धिक ब्यक्तित्वहरुले शिक्षार्जन गरेको यस क्षेत्रबाट फेरी त्यस्तै हस्तीहरुको उत्पादन हुन सकोस् भन्दै शुभकामना दिनु भयो ।
नगरप्रमुख रण बहादुर राईले नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्दा देखि पाठ्यपुस्तक निर्माण हुँदा सम्मको प्रक्रिया बारे जानकारी गराउनु भएको थियो ।
पाठ्यपुस्तक तयार पार्दा शुक्ष्म विषयवस्तुलाई समेट्ने प्रयास भएको बताउनु भयो । आउँदो शैक्षिक सत्रबाट कक्षा १ देखी ५ सम्म हाम्रो सूर्योदय पठनपाठन हुने राईले बताउनु भयो । स्थानीय पाठ्यपुस्तकले विद्यार्थीहरूलाई नगरपालिकाको भौगोलिक, साँस्कृतिक र ऐतिहासिक जानकारी दिनुका साथै उनीहरुलाई स्थानीय भाषा, शैली र परम्परासँग चिरपरिचित गराउने र थप व्यवहारीक शिक्षा समेत प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।
नगर उपप्रमुख दुर्गादेवी भट्टराई र प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नं १० का अध्यक्ष पेमा उर्गेन लामाले स्वागत मन्तब्य राखेका थिए । विशेष अतिथी भट्टराईले बालबालिकाको स्तरवृद्धि गर्न हरसम्भव प्रयास गरिएको बताउनु भयो ।