राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय एक वर्षमा प्रवेश

राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय एक वर्षमा प्रवेश

काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय एक वर्षमा प्रवेश गरेका छन्। विसं १९७६ असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको भीरपुस्तुन भन्ने ठाउँमा पिता गौरीशङ्कर र माता द्रौपदीका कोखबाट जन्मेका उनी मंगलबार एक सय एक वर्षमा प्रवेश गरेका हुन्।

उनले यो उमेरमा पनि साहित्यको क्षेत्रमा कलम चलाउन छोडेका छैनन्। उनले कविताका अलावा साहित्यका थुप्रै विधामा कलम चलाएका छन्। उनी कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउँदै आएका छन्।

राष्ट्रकवि घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ। राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

राष्ट्रकवि घिमिरेकी जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उनले रचेको ‘गौरी’ शोककाव्य र अन्य दर्जनौं काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन्। उनका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन्।

स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ जस्ता कैयौं राष्ट्रिय भावका गीत र कविताहरू लोकप्रिय छन्।

‘गाउँ छ गीत नेपाली, ज्यातीको पंखा उचाली’ अझै पनि बालबालिकाको जीव्रोमा झुण्डिरहेको छ। ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो’ले इतिहासको झझल्लो आउँछ।