इलाम , २८फागुन :गत असोज १८ र १९ गतेको अविरल बर्षा पछि आएको विपत्त पछि इलाम जिल्लामा भएको भौतिक क्षति र सडक सञ्जालको अवस्था सुधारमा प्रभावकारी काम नभएको भन्दै इलामका नागरिकले सरकारको ध्यानाकर्षण गराएका छ्न । इलामलाई ‘विपत्त संकटग्रस्त जिल्ला’ घोषणा गरिए पनि अपेक्षाअनुसार पुनःनिर्माण तथा राहतका काम अघि नबढेको भन्दै सचेत इलामेली नागरिकहरूको समुहले जिल्ला प्रशासन कार्यालय इलाममा ध्यानाकर्षण पत्र बुझाएका छ्न ।
ध्यानाकर्षण पत्रमा विपत्तका कारण जिल्लाका विभिन्न स्थानमा ठूलो क्षति पुगेको उल्लेख गर्दै त्यसको व्यवस्थापन र पुनःनिर्माणका काम प्रभावकारी रूपमा अघि नबढेको उल्लेख छ।
सडक सञ्जालको अवस्था सुधारमा हालसम्म झारो टार्ने काम मात्रै भएको भन्दै आगामी वर्षायाम सुरु हुनुअघि नै ठूलो जोखिम सिर्जना हुन सक्ने भएकोले ध्यानाकर्षण बुझाएको समुहका प्रकाश चापागाईंले बताउनु भयो ।
इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने मुख्य सडक सञ्जाल अवरुद्ध हुने अवस्था आए तीनै जिल्लाको अवस्था भयावह बन्न सक्ने भन्दै ध्यानाकर्षण पत्रमा भनिएको छ। तराई क्षेत्रबाट इलाम तथा अन्य पहाडी जिल्ला जोड्ने मुख्य मार्ग मेची राजमार्ग तथा वैकल्पिक केचना–कञ्चनजंघा सडक लगायतका सडकहरूको तत्काल पुनःनिर्माण र स्तरोन्नति गर्न सरकारसँग माग गरिएको जनाइएको छ ।
यस विषयमा पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि हालसम्म सरकार र सम्बन्धित निकाय मौन रहेको भन्दै नागरिकहरूले गुनासो गरेका छ्न ।
ध्यानाकर्षण पत्रमार्फत निकट भविष्यमा आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै मेची राजमार्ग तथा अन्य वैकल्पिक सडकहरूको पुनःनिर्माण र स्तरोन्नतिको काम तत्काल सुरु गर्न सरकारलाई आग्रह गरिएको समुहका संयोजक ईश्वर चिपालुले बताउनु भयो ।
मुख्य राजमार्ग अबरुद्ध भए जनजीवनमा प्रत्यक्ष प्रभाव पर्ने भएकोले काम तत्काल अघि नबढाइए चरणबद्ध आन्दोलन गर्ने समेत जनाइएको छ ।
यस क्षेत्रमा बर्षा सुरु भए संगै इलाम बासी चिन्तित हुन थालेका छ्न । मेचीराजमार्ग अन्तर्ग माईखोला खण्डमा अस्थायी रुपमा सुचारू गरिए पनि जोखिम कायमै रहेकोले ठुलो र निरन्तर वर्षा भए सडक अबरुद्ध हुने सम्भावना समेत रहेको छ । मेची पहाडको लाइफलाइन सडकको रुपमा रहेको मेची राजमार्ग अबरुद्ध भए इलाम सहित पाँचथर र ताप्लेजुङ जिल्ला बासी समेत प्रभावित हुनेछ्न ।

प्रतिक्रिया