इलाम , ११ चैत :इलामका स्थानीयबासीलाई विपद व्यवस्थापन बारे अभिमुखिकरण गर्न थालिएको छ । भविष्यमा आउन सक्ने विपद बाट मानवीय र भौतिक क्षति हुन नदिन रोकथाम र पुर्वतयारीको लागि स्थानीय बासीलाई तालिम दिइएको हो ।

विपद व्यवस्थापनको आधारभुत तीन दिवसीय तालिम इलाम नगरपालिका ६ मा बुधबारदेखि सुरु भएको छ । चेतनशील महिला समुह इलामकाे आयाेजनामा भएको तालिममा इलाम नगरपालिका ६ का स्थानीयबासी सहभागी भएका छन । विपद ब्यवस्थापन सम्बन्धि नागरिकलाई जानकारी गराई विपद पुर्व तयारीमा रहन सचेत गराउने उदेश्यले तालिमको आयोजना गरिएको चेतनशील महिला समुहकी अध्यक्ष यमुना देवानले बताउनु भयो । स्थानीयलाई तालिम दिई आफ्नो घर , गाउँ , टोलमा आउन सक्ने विपत्तको पुर्वतयारी , विपत्तको बेला र विपत्त पछि के केसरी तयारी गर्न सकिन्छ भन्ने बारे सचेतना जगाउन सकिने देवानले बताउनु भयो ।

कार्यक्रमको उद्घाटन गर्दै नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दुर्गा श्रेष्ठ (मदन ) बिपदको पुर्वतयारीको लागि सबै नागरिकले तालिम लिन आवश्यक रहेको बताउनु भयो । विपद पुर्व , विपदको बेला र विपद पछि आफु आफ्नो परिवार र टोल छिमेकमा समेत सहयोग गर्न सक्ने भएकोले तालिम महत्त्वपूर्ण रहेको बताउनु भयो । विपदको पुर्वतयारी नहुदा समस्या भएको उहाँको भनाई छ ।

टेवा काठमाडौकाे आर्थिक सहयाेग तथा सहयात्रा नेपाल संस्था , इलाम नगरपालिका वडा नम्बर ६ वडा कार्यलय र सशस्त्र प्रहरी बल इलामको समन्वयमा तालिम संचालन गरिएको आयोजकले जनाएको छ । तालिममा सशस्त्र प्रहरी बल इलामका प्रमुख एसपी केशवराज प्याकुरेल , इनिस्पेक्टर योगहाङ पतङगवाले सहजीकरण गरीरहनु भएको छ । तालिममा इलाम नगरपालिका ६ का १० वटा टोलविकास संस्थाका युवा , महिला , ज्येष्ठ नागरिक लगायत ४० जना सहभागी भएका छ्न ।

उद्घाटन कार्यक्रममा सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवा , इलाम नगरपालिका ६ का वडा सदस्यहरु प्रेम राई र विनादेवी लिम्बु लगायतको उपस्थिति रहेको थियोे । गत असोज १८ र १९ को अविरल बर्षा पछि आएको विपदले ३९ जनाको मृत्यु भएको थियो भने १२ अर्बको भौतिक क्षति भएको सरकारी तथ्यांक छ । पुनर्निर्माण र पुनस्थापनाको काम भईरहेको भए पनि बजेट अभावमा प्रभावकारी काम हुन सकीरहेको छ ।
प्रतिक्रिया