logo
  • २०८३ बैशाख २६, शनिबार | Sat, 09 May 2026
  • राष्ट्रिय कृषक समूह महासंघ नेपाल स्थापना दिवस : किसानका सपना र चुनौती

    राष्ट्रिय कृषक समूह महासंघ नेपाल स्थापना दिवस : किसानका सपना र चुनौती

    रिता बस्ताकोटी (पूर्व महासचिव) राष्ट्रिय कृषक समूह महासंघ नेपाल

    नेपालको कृषि परम्परागत पेसा मात्र होइन, जनजीवन र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो। तर विडम्बना के छ भने अझै पनि किसानलाई सामाजिक सुरक्षा सहितको पहिचानका लागि परिचयपत्र, योगदान, लगानी र उत्पादनको उचित मूल्यसहितको बजार, सिँचाइ, मलखाद, रोग–कीरा नियन्त्रण तथा बाली संरक्षणका लागि प्राविधिक सेवा, जैविक विषादी, जैविक मल, अनुदान, सहुलियत ऋणमा पहुँच, भौगोलिक अवस्थाअनुरूपका कृषि औजार, ढुवानी तथा यातायात, आधुनिक प्रविधिको उपयोगजस्ता विषयमा दीर्घकालीन समाधानका आधारभूत व्यवस्था समेत बनेको छैन।

    साना, सिमान्त, भूमिहीन तथा महिला किसानका चुनौती र पहुँचको अवस्था अझ दयनीय देखिएकाले राष्ट्रिय कृषक समूह महासंघ नेपाल २०६८ मा स्थापना भएको हो।

    साना, सिमान्त, भूमिहीन तथा महिला किसानको साझा आवाज र संगठनात्मक शक्तिको प्रतिनिधि प्रयासका रूपमा यो महासंघ स्थापित गरिएको हो। स्थापना कालदेखि नै यस संस्थाले किसानका समस्या छलफल र पैरवी गर्दै राष्ट्रिय सवाललाई नीतिगत व्यवस्थामा परिणत गर्न दबाब सिर्जना गर्दै आएको छ। किसानका अधिकार स्थापित गर्न यसले स्थानीय, प्रदेश तथा संघीय तहमा काम गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।

    देशभर करिब एकलाख कृषक, ५ हजार कृषक समूह, ६३ जिल्ला र सातवटै प्रदेशमा तहगत संरचना सहित महासंघ किसानहरूको बलियो शक्ति बनेर जरा गाड्न सफल भएको छ। “किसान आत्मनिर्भर भए मात्र नेपालको दीर्घकालीन विकास सम्भव छ” भन्ने ध्येय राख्दै कृषक समूह तथा कृषि सहकारीमार्फत किसानलाई सेवा प्रदान गर्ने सरकारको नीतिलाई महासंघले प्रोत्साहित र सहकार्य गर्दै आएको हो। किसानका समस्या प्रश्नका रूपमा उठाउँदै बहस र पैरवी गर्ने महासंघका क्रियाकलापले किसान आन्दोलनलाई संगठित ढंगले अघि बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

    तर आज पनि किसान समस्याबाट मुक्त भएका छैनन्। उत्पादन लागत बढ्दो छ तर बजार मूल्य अस्थिर छ। जलवायु परिवर्तनका कारण अनिश्चित मौसम र रोग–कीराले उत्पादनमा जोखिम बढाएको छ। प्राविधिक सेवामा पहुँच छैन। युवाहरूको कृषिप्रति आकर्षण नहुनु र वैदेशिक रोजगारीका कारण गाउँ खाली हुँदै कृषिमा जनशक्ति कमी भएको छ। बीमा, अनुदान, सहुलियत ऋण, औजार, प्रविधि र बजारजस्ता कृषि प्रणालीमा महिला करण भएपनि सरकारका कार्यक्रम महिला–मैत्री बन्न सकेका छैनन्। साना, सिमान्त, भूमिहीन तथा महिला किसानको पहुँच सुनिश्चित गर्न सरकारका सही नीति तथा कार्यक्रम नबन्नु वा बनेका कार्यान्वयन नहुनु ठूलो चुनौती बनेको छ।

    यसलाई प्रभावकारी बनाउन महासंघले संस्थागत सुधार गर्दै किसान सवालमा निरन्तर बहस र पैरवी गर्न आवश्यक छ।

    स्थापना दिवसमा विगतको मात्र समीक्षा होइन, संस्थालाई अझ सबल र लोकतान्त्रिक बनाउन, अझ कसरी प्रभावकारी र सफल बनाउन सकिन्छ भन्ने विषयमा स्पष्ट खाका तयार गरी अघि बढ्नु जरुरी छ।

    त्यसका लागि केही महत्वपूर्ण पक्षहरू :

    १. विधानसम्मत क्रियाकलाप – संस्थाको विधानअनुसार गतिविधि सञ्चालन गर्नुपर्छ। स्वार्थ वा अरूलाई रोक्ने साधनका रूपमा मात्र विधान देखाउनु हुँदैन।

    २. संघीयताको सम्मान – पालिका र प्रदेशलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्छ।

    ३. सदस्यता व्यवस्थापन – सदस्यता विवरणलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्नुपर्छ।

    ४. समान अवसर र संरचना परिचालन

    ५. परिषद् र अधिवेशन – सबै तहमा नियमित आयोजना गर्नुपर्छ।

    ६. लक्षित वर्गका लागि सदस्यमैत्री कार्यक्रम

    ७. संवाद र लोकतान्त्रिक अभ्यास

    ८. केन्द्र, प्रदेश र पालिका तहबीच नियमित सहकार्य

    राष्ट्रिय कृषक समूह महासंघ नेपाल साना, सिमान्त, भूमिहीन, महिला किसानका नाममा जागिर खाने भाँडो मात्र नबनी संस्थागत पारदर्शिता, उत्तरदायित्व र सदस्यमैत्री अभ्यासको नमूना बन्नुपर्छ।

    १५ वर्षअघि युवालाई कृषिमा आकर्षित गर्दै सामाजिक सुरक्षा सहितको किसान परिचयपत्रमार्फत सरकारी सेवा–सुविधाको समान वितरण गरी किसानको पहिचान स्थापित गर्ने सपना देखेर स्थापना भएको महासंघको १५औँ स्थापना दिवसले किसानको कति प्रतिशत सपना पूरा गर्‍यो भन्नेबारे आज समीक्षा गर्न जरुरी छ। “बिरालो बाँधेर श्राद्ध नहोस्।”

    जय कृषि, जय किसान। शुभकामना



    निगरानी    
  • २०८२ भाद्र २३, सोमबार ०७:२० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP