logo
  • २०८२ असार २५ | Wed, 09 Jul 2025
  • इलाम नगरपालिकाको बजेट एक अर्व १४ करोड ३४ लाख

    इलाम नगरपालिकाको बजेट  एक अर्व १४ करोड ३४ लाख

    इलाम नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्व १४ करोड ३४  लाख १३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।  इलाम नगर सभाको  १७औं अधिवेशनमा उपप्रमुख विष्णु दाहालले मंगलवार उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।
    आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि पेस गरिएको बजेटमा प्रशासनिकतर्फ कुल बजेटको १३ प्रतिशत, पूर्वाधारमा २० प्रतिशत, सामाजिक विकासमा ५६ प्रतिशत, आर्थिक विकासमा ६ प्रतिशत, सुशासनतर्फ ४प्रतिशत, वन–वातावरण र विपदमा एक प्रतिशत, वित्तीय व्यवस्थामा २ प्रतिशत विनियोजित गरिएको छ । 
    उपप्रमुख दाहालले चालु आर्थिक वर्ष ०८१/०८२ मा  संघीय र प्रदेश सरकारमार्फत आएको समानीकरण, समपूरक अनुदान शीर्षकका खर्च भइनसकेको बजेट आयमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिएको बताइन् । दाहालले चालु आर्थिक वर्षमा चालुतर्फ ६९ प्रतिशत र पुँजीगततर्फ २९ प्रतिशत खर्च भइसकेको बताउनु भयो । दाहालले आगामी बजेटमा समेट्न नसकिएका महत्वपूर्ण र ठूला योजनालाई योजना बैंकमा राखेर प्रदेश र संघीय सरकारबाट प्राप्त हुने बजेटमा समावेश गर्ने लक्ष्य रहेको बताउनु भयो ।
    सभामा उपप्रमुख दाहालले अर्को आर्थिक वर्ष ०८३/०८४ का लागि एक अर्ब २० करोड पाँच लाख ८३ हजार ६ सय ५० रुपैयाँ प्रक्षेपण सभामा प्रस्तुत गर्नु भयो। चालु आर्थिक ०८१/०८२ का लागि गएको १६औं नगरसभाले पारित गरेको एक अर्ब १३ करोड रुपैयाँको बजेट प्रदेश र संघीय सरकारमार्फत आएका विभिन्न योजनाको बजेट बढेर एक अर्ब १८ करोड रुपैयाँमा अहिले सञ्चालन भइरहेको छ ।
    नगरपालिकाले आगामी आर्थिक वर्षका लागि मिसन रोजगारी, प्राङ्गारिक क्षेत्र घोषणा, नमुना कृषि कार्यक्रम, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, गर्भवती महिलालाई भिडियो एक्स्रेको घुम्ति शिविरलगायतका कार्यक्रम अघि सारेको छ ।



    निगरानी    
  • २०८२ असार १०, मंगलवार १६:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP