logo
  • २०८३ असार ३०, मंगलवार | Tue, 14 Jul 2026
  • इलाममा विद्युत कटौतीले चिया तथा दुग्ध उद्योग प्रभावित, उद्योगीद्वारा ज्ञापनपत्र

    इलाममा विद्युत कटौतीले चिया तथा दुग्ध उद्योग प्रभावित, उद्योगीद्वारा ज्ञापनपत्र

    आशिष देवान , इलाम, ३० असार : । पटकपटक हुने विद्युत कटौतीका कारण चिया तथा दुग्ध उद्योग सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको भन्दै इलामका उद्योगीहरूले जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्र र इलाम नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।

    चिया उद्यमी जीवन नेउपानेका अनुसार दिनमै पटकपटक विद्युत अवरुद्ध हुँदा उद्योग मात्र नभई किसानसमेत प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। समयमै चियापत्ती र दूध प्रशोधन गर्न नसक्दा उत्पादनमा असर परेको उनले बताए।

    उद्योगी गृष्मा सुब्बाले महँगो इन्धनका कारण जेनेरेटर सञ्चालन गरेर उद्योग चलाउनसमेत कठिन भएको बताइन्। इलामका अधिकांश नागरिकको जीविकोपार्जन चिया उद्योगमा निर्भर रहेकाले नियमित र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्नुपर्ने उनको माग छ।

    नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रेवतप्रसाद चौधरीले प्रतिकूल मौसमका कारण विद्युत आपूर्तिमा समस्या आएको बताए। सेवा नियमित बनाउन प्राविधिक टोली निरन्तर खटिएको र समस्या समाधानका लागि आवश्यक पहल भइरहेको उनले जानकारी दिए।

    प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्योगीहरूले उठाएका मागप्रति प्रशासन गम्भीर रहेको बताउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि पहल गरिने बताए। विद्युत आपूर्तिलाई थप व्यवस्थित र नियमित बनाउन सरोकारवाला निकायसँग छलफल गरी आवश्यक कदम चालिने उनले उल्लेख गरे।

    इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्योगीहरूको ज्ञापनपत्र प्राप्त भएको जनाउँदै विद्युत कटौतीका कारण उद्योग, व्यवसाय तथा किसान प्रभावित भएकाले समस्या समाधानका लागि नगरपालिका आवश्यक समन्वय गर्न तयार रहेको बताए। सम्बन्धित निकायसँग सहकार्य गरेर विद्युत आपूर्ति नियमित बनाउन पहल गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।



    निगरानी    
  • २०८३ असार ३०, मंगलवार १६:०८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP