इलाम १४ असोज : नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष एवं अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि निरन्तर सक्रिय रहँदै आएका माधवप्रसाद चम्लागाईं कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा ,( अपाङ्गता कोटा) निर्विरोध निर्वाचित भएका छन्।
इलाम क्षेत्र नम्बर २ मा आज भएको मनोनयन प्रक्रियामा चम्लागाईंको बाहेक अन्य कसैको उम्मेदवारी नपरेपछि उनी महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्।
चम्लागाईं नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत पार्टी रूपान्तरण गर्नुपर्छ भन्ने भातृ संस्थाबाट निर्णय गराएर पार्टी संरचनाभित्रबाटै अघि बढाउँदै केन्द्रीय कार्यसमितिलाई सुझाव दिने पहिलो भ्रातृ संगठनका अध्यक्ष हुन्। पछिल्लो जनजी आन्दोलनपछि कांग्रेस पनि समयअनुसार चलायमान र रूपान्तरित हुनुपर्नेमा जोड दिँदै आएका उनले युवा तथा समावेशी नेतृत्वका लागि निरन्तर पहल गर्दै आएका छन्।
अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि सुरुदेखि नै सक्रिय चम्लागाईं सञ्चारकर्मीसमेत हुन्। उनले पत्रकारिताको माध्यमबाट पनि अपाङ्गता भएका व्यक्तिका अधिकार र सवाललाई निरन्तर उठाउँदै आएका छन्। उनी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्यसमेत भइसकेका छन्।
चम्लागाईंले संविधानले सुनिश्चित गरेको समानताको हक प्रयोग गर्दै अपाङ्गता भएका व्यक्तिहरूले पनि सगरमाथा आरोहण गर्न पाउनुपर्ने मागसहितको कानुनी लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सर्वोच्च अदालतबाट पक्षमा फैसला भएपछि दृष्टिविहीन व्यक्तिसमेत सगरमाथा आरोहण गर्ने बाटो खुलेको थियो।
अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न पनि उनी निरन्तर सक्रिय छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिक राजनीतिक प्रतिनिधित्व कमजोर पारिएको भन्दै उनीसहितले दायर गरेको सार्वजनिक सरोकारको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो। सोही आदेशका आधारमा विभिन्न राजनीतिक दलबाट अपाङ्गता भएका पाँच जना व्यक्ति प्रतिनिधिसभामा समानुपातिकतर्फ सदस्य बनेका थिए।
कांग्रेस राजनीतिमा चम्लागाईं
पत्रकारितामा स्नातकोत्तर गरेका चम्लागाईं शारीरिक अपाङ्गता भएका व्यक्ति हुन्। उनले इलामको सूर्योदय शिक्षा सदनमा २०५२ सालमा नेपाल विद्यार्थी संघको पहिलो अध्यक्ष भएर कांग्रेसको राजनीति सुरु गरेका थिए। २०५४ सालमा भानुभक्त उच्च माध्यमिक विद्यालयको नेविसंघ सचिव भएका उनी २०५५ सालदेखि नेपाली कांग्रेसको सक्रिय सदस्य छन्।
कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि भएका उनी १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका थिए। १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य (अपाङ्गता कोटा) का प्रत्यासी रहेका चम्लागाईं पार्टी संरचनाका सबै तहमा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न निरन्तर आवाज उठाउँदै आएका छन्।
दोस्रो जनआन्दोलन (२०६२/६३) को पूर्वसन्ध्यामा त्रिचन्द्र कलेज नेविसंघले गरेको विरोध प्रदर्शनमा उनी घाइतेसमेत भएका थिए। नेपाली कांग्रेस केन्द्रीय प्रचार विभागअन्तर्गत अनलाइन मिडिया परिचालन समितिको सदस्यका रूपमा समेत उनले जिम्मेवारी निर्वाह गरेका थिए। संविधानसभा निर्वाचन २०६४, दोस्रो संविधानसभा निर्वाचन २०७० तथा संघीय निर्वाचन २०७४ मा उनले पार्टीका लागि विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। विशेष महाधिवेशनमा प्रचारप्रसार विभागको सहसंयोजकका रूपमा पनि उनले भूमिका निर्वाह गरेका थिए।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको २०७१ सालमा केन्द्रीय सदस्य भएका चम्लागाईं २०७४ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
वर्तमान नेतृत्वसँग समन्वय गर्दै पार्टीभित्रका विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै आएका चम्लागाईं समावेशिता, पार्टीको विचार र समयअनुकूल परिवर्तनको पक्षमा सशक्त रूपमा आवाज उठाउँदै आएका छन्।
प्रतिक्रिया