इलाम , असोज १२ :इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
आज बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे १ ज ३३४७ नम्बरको बोलेरो आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
दुर्घटनामा पाँचथर मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय चालक खेमराज मगरको दाहिने आँखामुनि र दाहिने काँधमा सामान्य चोट लागेको छ। उहाँलाई घटनास्थलमै राखिएको र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, मिक्लाजुङ–५ की ४३ वर्षीया मनकुमारी लावतीको बायाँ पाखुरा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उहाँको अवस्था सामान्य रहेको छ।
मनकुमारीकी १२ वर्षीया छोरी लाम्सिमी लावतीको दाहिने आँखामा गहिरो चोट लागेको छ। बोल्न नसक्ने अवस्थामा रहेकी उहाँलाई थप उपचारका न्युरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ।
यस्तै, मनकुमारीका २३ महिनाका छोरा लाम्सेमा लावतीको टाउकोमा चोट लागेको छ भने उहाँको अवस्था मध्यम रहेको छ।
तुम्बेवा गाउँपालिका–१ पाँचथरका २१ वर्षीय जनक तामाङको दाहिने पाखुरामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई प्रारम्भिक उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पठाइएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया