काठमाण्डौं / यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा डाक्टर सुमन थापाले गीत सुनाउने भएका छन् ।
सुमन पेशाले नेत्र-विशेषज्ञ हुन् तर उनी गिटारमा औंला चलाउँदै गाउन औधी रुचाउँछन् । आफैँ गीत लेख्छन् र धुन पनि भर्छन् ।
नब्बेको दशकमा ‘बाइपास’ समुहसँग संलग्न रहेर आफ्नो सांगीतिक रहरलाई अगाडि बढाएका सुमन, हाल ‘ब्ल्यू फ्रेट’ नामको सांगीतिक समूहमा क्रियाशील छन् । यसपाली भने उनी पलेँटीका वाद्यवादकहरूसँग गायन अभ्यासमा जुटेका छन् ।
प्राय अँग्रेजी भाषामा गीत लेख्ने र गाउने थापा यसपाली पुरै नेपाली भाषाका गीत लिएर प्रस्तुत हुनेछन् । पलेँटीले उनलाई नयाँ सांगीतिक प्रयोग गर्ने सोचका साथ निम्त्याएको जानकारी गराएको छ ।
यसपालीको पलेँटीका निम्ति धेरैजसो गीत कवि श्रवण मुकारुङले लेखेका छन् । प्राय गीतमा डाक्टर सुमनको पेशा सुहाउँदो, आँखा र तिनले निहाल्ने दृश्य सम्बन्धित विषय समेटिएको छ । सुमन थापाका निम्ति तयार पारिएका सबै नयाँ गीतहरूमा संगीतकार आभासले धुन भरेका छन् ।
यसपालीको पलेँटी पश्चिमी शैलीमा गाउने सुमन, ठेट नेपाली पारामा लेख्ने श्रवण र विभिन्न शैलीका सांगीतिक प्रयोग अपनाउने आभासको त्रिवेणी पलेँटी हुनेछ ।
तिलगंगा आँखा अस्पतालसँग आवद्ध थापा काठमाण्डौंका बासिन्दा हुन् । उनले ‘एक एक पाइला’ अभियानमार्फत स्वास्थ्य शिविरहरुमा सहभागी भइ देशका विभिन्न जिल्ला भ्रमण गरेका छन् ।
उनले हालसम्म मोतिविन्दू र जलविन्दूका ५० हजारभन्दा धेरै सल्यक्रिया गरिसकेका छन् । शिविर-यात्राका क्रममा डाक्टर सुमनले अनेकौं अनुभव र अनुभूति संगालेका छन् । पलेँटीमा गीत सुनाउने क्रममा सुमनले आफ्ना तिनै अनुभव र अनुभूतिलाई समेत बाँड्ने छन् ।
नेपालयको आरशालामा पलेँटीका निम्ति गिटार समातेर नयाँ धुन अभ्यास गरिरहेका सुमन भन्छन्- ‘पलेँटीमा गाउने कुराले म एकदमै उत्साहित छु; श्रवणजीले लेख्नु भएका गीत र आभासजीले भर्नु भएका धुनले मलाई रमाइलो नसा लगाएका छन् । यो क्षण मेरो सांगीतिक मोडमा अचानक भेटिएको सुन्दर बगैँचा हो ।’ प्रतिक्रिया दिएर उनी गीत गुनगुनाउन थाले- ‘किन बोल्नु बोल्दिन म; बोल्छ आँखाले, पत्तै नपाइ यो मनपेट खोल्छ आँखाले ।’
घाँटीमा भिरेको हार्मोनिकाबाट धुन निकाल्दै डाक्टर सुमन आफ्नो सन्देश प्रवाह गरिरहेका सुनिए- ‘ओ पासाङ दाइ; ओ बैनी फूलमतिया ! पर्ख है पर्ख म ‘स्लिट ल्याम्प’ बोकेर आउँदै छु, तिमीलाई सुन्दर संसार देखाउन ।’
रिहर्सल सकेर अकेस्टिक गिटार बक्समा बन्द गरिरहेका सुमनलाई अस्पताल पुगेर अप्रेसन गर्नु छ त्यसैले उनी हतारमा देखिन्थे । ‘आर’शालाबाट बहिरिँदै गर्दा उनले भरखर अभ्यास गरेको अर्को गीत गुनगुनाए- ‘हतार छ एकदम हतार छ ।’
कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा डाक्टर सुमनलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दरकुमार महर्जनले साथ दिनेछन् ।
यही अक्टोबर महिनाको २५ र २६ तारिखमा कालिकास्थानस्थित नेपालयको पुरानै कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुत हुने कार्यक्रममा सहभागी हुन थुप्रै डटकम र paleti@nepalaya.com.np मा सम्पर्क गर्न सकिन्छन् ।