‘सिने स्टार अवार्ड २०२०’ का लागि दर्ता आह्वान

काठमाडौ‍ं / क्यानडामा आयोजना गर्न लागिएको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को फिल्म दर्ताका लागि आह्वान गरिएको छ । अवार्डमा सहभागिता जनाउन फिल्मकर्मीलाई आफ्ना फिल्म दर्ता गर्न आह्वान गरिएको हो ।आउँदो जनवरी अन्तिम साता क्यानडाको टोरन्टोमा हुने अवार्डको लागि फिल्म दर्ता प्रक्रिया शुरु गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार वर्ष २०७५ भित्र प्रदर्शनमा आएका फिल्महरूले अवार्डमा भाग लिन सक्नेछन् । ‘भ्रमण बर्ष २०२०’ लाई लक्षित गरेर आयोजना गरिने अवार्ड दर्ता प्रक्रियामा सहभागी हुने फिल्मबाट निर्णायक टिमले उत्कृष्ट तीन मनोनयन गर्ने जनाइएको छ ।आयोजक संस्था हिल्सा इन्टरटेन्मेन्टका प्रतिक बुढाथोकीका अनुसार विभिन्न १२ विधामा उत्कृष्ट तीन छनोट गरिने बताए । अवार्डको निर्णायकमा मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी रहेका छन् ।

यस्तै अवार्ड कार्यक्रममा उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सिनेमाटोग्राफी, सम्पादन, संगीत, पार्श्व गायक, पार्श्व गायिका, सह-अभिनेता, सह-अभिनेत्री प्रतिस्पर्धी विधा समावेश गरिने जनाइएको छ ।

अवार्ड समारोहमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ भने निर्णायक टिमले जुरी अवार्ड समेत प्रदान गर्नेछ ।जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको समेत सहकार्यमा हुने अवार्डले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्नमा भूमिका खेल्ने आयोजकको विश्वास छ ।