काठमाडौं । टुहुरो कुण्डली’ उपन्यासको अंग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ लोकर्पण गरिएको भोलिपल्ट शनिवार उपन्यासकार, लेखक, अन्वेषक एवं साहित्यकार भीष्मराज फुलारा ‘राष्ट्रिय शिखर अनर अवार्ड–२०७६’ बाट विभुषित हुनुभएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र शिखर नेपालका अध्यक्ष एवं राष्ट्रिय शिखर अनर अवार्ड–२०७६ का संयोजक शेखर खनालले विशेष समारोहबीच फुलारालाई पुरस्कार, प्रमाणपत्र र अवार्ड संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपाली साहित्य जगत्मा फुलाराले देखाउनुभएको सक्रियताले साहित्य क्षेत्रकोमात्रै नभएर देशकै शिर उच्च भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस्ता अवार्डबाट अझ अगाडि बढ्न फुलारालाई थप प्रोत्साहन मिलोस् ।
‘नेपाली साहित्यको क्षेत्रमा विगत लामो समयदेखि पुस्तक लेखन, खोज तथा अनुसन्धानमूलक साहित्य सिर्जना एवं ऐतिहासिक बृत्तचित्र लेखनजस्ता गहन विषयमा क्रियाशिल रही नेपाली साहित्य जगत्मा उच्च योगदान पुर्याउँदै साहित्य फाँटमा विशिष्ट पहिचान स्थापित गरी चर्चित लेखकको श्रेणीमा शिखर चुम्न सफल हुनुभएको छ’ सम्मानपत्रमा भनिएको छ– ‘तपाईंले विभिन्न संघ–संस्थामा उच्चस्र्थ पदमा रही नेपाली साहित्यको विकास, विस्तार, प्रवद्र्धन तथा उत्थानका अतिरिक्त विभिन्न खोजमूलक एवं अनुसन्धात्मक राष्ट्रिय पत्रपत्रिकाहरूमा समसामयीक विषयबस्तु उठान गरी लेख, रचना तथा श्रृजनात्मक विषयमा कलम चलाउँदै मुलुकको साहित्यिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा पुर्याउनुभएको अतुलनिय योगदान प्रशंसनीय छ । तपाईंको लेखकीय क्षेत्रको असाधारण प्रतिभा र मुलुकको साहित्य विकासको श्रीवृद्धिका लागि खेल्नुभएको अमूल्य भूमिकाको उच्च मूल्यांकन गर्दै शिखर नेपालद्धारा आयोजित विशेष अवार्ड समारोहमा नेपाली साहित्य विधा तर्फबाट, बहुमुखी प्रतिभाका धनी तपाईंलाई ‘राष्ट्रिय शिखर अनर अवार्ड–२०७६’ द्धारा विभुषित गर्दछौं ।
कार्यक्रममा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, पूर्व उद्योगमन्त्री एवं संविधानसभा सदस्य महेश बस्नेत, राष्ट्रिय योजना आयोगको सदस्य सुशील भट्ट, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की, नेपाल सरकारका पूर्व सचिव ई. भीमप्रसाद उपाध्याय, रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमला, कारोवार राष्ट्रिय दैनिकका सम्पादक कुबेर चालिसे, काष्ठमण्डप टेलिभिजन तथा चलचित्र निर्देशक दीपक खाँडलगायतका व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो ।
उसो त फुलाराको कृति ‘नफापेको मान्छे’ (२०६७), ‘टुहुरो कुण्डली’ (२०७४), ‘नेपाली भाषा र साहित्यः त्यहाँदेखि यहाँसम्म’ (२०७५) प्रकाशित भइसकेका छन् भने ‘ओरपान हरस्कोप’ भर्खरै बजारमा आएको हो । त्यस्तै ‘नफापेको मान्छे’ (दोस्रो संस्करण), ‘लभ कर्नर’ र ‘साहित्यकार संगालो’ प्रकाशोन्मुख छन् । फुलारा लिटरेचर फाउण्डेशनका अध्यक्षसमेत रहनुभएका उहाँ काइट्स इन्टरटेनमेन्ट प्रालिको प्रबन्ध निर्देशक, राष्ट्रिय साहित्य समाज नेपालको महासचिव, पेन इन्टरनेशनल नेपाल प्याप्टरको सदस्य हुनुहुन्छ ।
फुलारा यसअघि ‘शिखर राष्ट्रिय अवार्ड–२०१४’, ‘विशेष राष्ट्रिय नागरिक सम्मान–२०७५’, ‘राष्ट्रिय एपिक व्यक्तित्व सम्मान–२०७५’, ‘स्टारवन एक्सलेन्स अनर अवार्ड–२०१९’, ‘नेशनल पावर न्यूज व्यक्तित्व सम्मान–२०१९’, ‘राष्ट्रिय शिखर सम्मान–२०७५’, ‘सर्वोत्कृष्ट बोष्टर लिटरेचर अवार्ड–२०१९’ आदि अवार्ड, सम्मान तथा पुरस्कारबाट विभुषित भइसक्नुभएको छ ।