बैशाख २३, इलाम । ठूलो परिमाणमा बिस्फोटक पदार्थ सहित तीनजना बिप्लव समूह नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का तीनजना कार्यकर्ता इलाममा पक्राउ परेका छन् । उनीहरुलाई सोमबार राती जिल्लाको माई नगरपालिका ९ स्थित बरुङ्गमा सात राउण्ड हवाइ फायर गरेर प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
बिशेष सुराकीको आधारमा बिप्लवका कार्यकर्ता रहेको र उनीहरु बम बनाउँदै गरेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय इलाम सहित प्रहरी चौकि दानाबार,ि चिसापानी र महमाईबाट गएको संयुक्त प्रहरी टोलिले बरुङका एक ब्यक्तिको घरमा घेराबन्दीमा पारेर पक्राउ गरेको हो । प्रहरीको घेराबन्दिमा परेका उनीहरु भाग्न खोज्ने क्रममा प्रहरीले सात राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक (एसपि)हिराबहादुर पाण्डेले बताउनुभयो । घटनामा प्रहरीले विप्लव समूहका इलाम जिल्ला इञ्चार्ज हिमाल भन्ने पुष्प कोइरालालाई समेत पक्राउ गर्न सफल भएको छ । ५४ बर्षिय कोइरालाको स्थायी घर संखुवासभा स्थित चैनपुर नगरपालिका ६ हो । यस्तै पक्राउ पर्नेमा ताप्लेजुङ्ग मिकुवाखोला गाउँपालिका ८ का १८ बर्षिइ जलन भन्ने पासाङ दण्डु शेर्पा र उदयपुर स्थित ताप्लि गाउँपालिका ६ का १९ बर्षिय पासाङ तामाङ्ग रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ, हातहतियार, मोबाइल र लुटेको नगद समेत बरामद गरेको छ । एसपी पाण्डेका अनुसार पक्राउ परेका बिप्लवका कार्यकर्ताको साथबाट प्रेसर कुकर बम, सकेट बम, कुपि बम, पाइपमा फिट गरेको बम १÷१ थान बरामद गरेको छ । यस्तै इलेक्ट्रोनिक डेटोनेटर १९ थान, चक्कु, बम बिस्फोट गराउन प्रयोग गरीने उपकरणका साथै रिमार्ट कन्ट्रोल ४÷४ थान, ब्याट्रि, तार, बाइनाकुलर, कैँची सहित करिब १२ थान मोबाइल र ३३ हजार ७ सय ८० रुपैंयाँ बरामद गरेको छ । उनीहरुले बम कहाँ र कहिले बिस्फोट गराउने भन्ने बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार जिल्ला प्रहरी कार्यालयमा पक्राउ परेका बिप्लवका कार्यकर्ता र उनीहरुबाट बरामद सामाग्रीको पत्रकार सम्मेलन गरेर सार्वजनीक गरेको छ ।