विहिबार देखि इलाम बजार १२ बजेसम्म खुल्ने

विहिबार देखि इलाम बजार १२ बजेसम्म खुल्ने

इलाम , जेठ २१

कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनको कारण व्यापार व्यावसाय ठप्प भइरहेका बेला इलाममा विहिबार देखि बजार खुल्ने भएको छ । इलाम उद्योग वाणिज्य संघले इलाम सदरमुकाममा वुधबार पत्रकार सम्मेलन गर्दै यस्तो निर्णय भएको जनाएको छ । सरकारले जोखिमयुक्त क्षेत्र घोषणा गरेको पेशा व्यवसाय विहिबार अर्थात जेठ २२ गते बाट बिहान ७ देखि १२ बजेसम्म खोल्ने निर्णय गरेको छ । तोकिएको समय भन्दा अन्य समय र शनिबार पुर्णरुपमा बन्द गर्नुपर्ने जनाएको छ । कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप उद्योग , पेशा व्यवसाय संचालन गर्न संघले सरोकारवालालाई अनुरोध गरेको छ ।व्यापार व्यावसाय संचालन गर्न पसल अगाडि साबुन पानी र हेण्ड सेनिटाइजर राख्नुपर्ने,व्यापारीले मास्क र पञ्जाको प्रयोग अनिवार्य प्रयोग गर्नुपर्ने , सामाजिक दुरी कायम गरेर पसल संचालन गर्न अनुरोध गरेको संघका अध्यक्ष ईश्वर चिपालुले बताउनु भयो । लकडाउनका कारण व्यवसायी समस्यामा परेको भन्दै बार्षिक सदस्यता शुल्कमा दर्ता तथा सदस्यता नविकरण शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको चिपालुे बताउनु भयो । संघले बैक तथा वित्तिय संस्थालाई विहान १० बजे देखि २ बजे सम्म संचालन गर्न अनुरोध गरेको छ ।