इलाम , १५ मंसिर : इलाम नगरपालिका–६ स्थित जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई लाइन्स क्लब इन्टरनेशनलले शैक्षिक सामग्री वितरण गरेको छ । बाढी–पहिरोपीडितका लागि राहत सामग्रीसहित इलाम आइपुगेको लाइन्स इन्टरनेशनल जिल्ला ३२५ ‘सि’ ले सोही अवसरमा विद्यालयका एकसय जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

स्थानीय युवा व्यवसायी तथा समाजसेवी जनकराज तिम्सिनाको पहलमा गरिएको सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन बिष्ट, प्रधानाध्यापक मोहनकुमार निरौला लगायतको उपस्थिति रहेको थियो । सामग्री पाएका विद्यार्थीसँगै अभिभावक तथा शिक्षकहरु उत्साहित भएका थिए । कक्षा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययन हुँदै आएको जनकल्याण आधारभूत विद्यालयमा १४ जना शिक्षक–कर्मचारी कार्यरत छन् । विद्यालयले कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठन–पाठन सञ्चालन गर्दै आएको छ ।

बिद्यालयको आर्थिक अवस्था मध्यम रहेपनि शैक्षिक गुणस्तर भने पछिल्ला वर्षहरूमा निरन्तर सुधारोन्मुख रहेको प्रधानाध्यापक मोहन कुमार निरौलाले बताउनुभयो । विद्यालयले गत वर्ष इलाम नगरपालिकाबाट उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा सम्मान पाउँदै पुरस्कार प्राप्त गरेको थियो । प्रदेश सरकारबाट भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग समेत आएको थियो । स्थानीय सरकारबाट आर्थिक सहयोग भइरहेपनि त्यो पर्याप्त नभएकोले आन्तरिक खर्च धान्न चुनौती भइरहेको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष मोहन बिष्टले बताउनुभयो ।

निजि शिक्षकको खर्च र बिद्यालयमा हुने बिभिन्न किसिमका आन्तरीक कार्यक्रमहरु अभिभावक सहित दताहरुको आर्थिक सहयोगबाट सञ्चालन गरिदै आएको बताइएको छ । यसैबीच, लाइन्स क्लबले इलामका बाढी–पहिरोपीडित दुई सय पचास परिवारलाई आवश्यक राहत सामग्रीसमेत वितरण गरेको फाउण्डेशनका गर्भनर बबरजंग थापाले बताउनुभयो । राहत वितरणसँगै विद्यालयका विद्यार्थीलाई गरिएको सहयोगले स्थानीयस्तरमा राहत तथा सहयोग कार्यक्रमले थप प्रभावकारी उपस्थिति जनाएको जनप्रतिक्रिया देखिएको छ ।
प्रतिक्रिया