पशुपति क्षेत्र गौरीघाटमा नवदुर्ग पूजा

पशुपति क्षेत्र गौरीघाटमा नवदुर्ग पूजा

काठमाडौं। वडादशैँको पूर्वसन्ध्यामा नव जागरुक युवा क्लबले पशुपति क्षेत्र गौरीघाटमा नवदुर्गा पूजा कार्यक्रम आयोजना भैरहेको छ। गत असोज १२ गते विहान पूजा सुरु गरी सोही स्थानमा जमरा समेत सुभारम्भ गरिएको सो पूजा वडादशैँको दिन समापन हुनेछ।

सो कार्यक्रममा भव्यताका साथ सम्पन्न गर्नका लागि स्थानीय संघसंस्था, टोल सुधार समिति, व्यक्ति तथा भक्तजनहरुले दैनिक पूजा कार्यक्रमा सहयोग तथा सहभागिता जुटिरहँदा थप रौनकता थपिएको स्थानीयबासी भरत श्रेष्ठ बताउछन्।

प्रत्येक दिन बेलुका ६ः००० बजे भजनकीति, आरती अनि प्रसाद समेत वितरण गर्ने गरिएको छ। नौरथाको नवमीको दिन विहान ९:०० बजे कुमारी पूजा होम गर्ने कार्यक्रम रहेको र विजया दशमीको दिन विहान ८ः०० बजे जमारा तथा नवदुर्गाको टिका विवरण गर्ने कार्यक्रम रहेको नवजागरुक क्लबका संस्थापक अमृतजंग थापाले बताए। साथै थापाले सो कार्यक्रममा सरिक भई फूलप्रसाद ग्रहण गरिदिनको लागि सम्पूर्ण स्थानीयबासीहरुलाई अनुरोध गरेका छन्।

नव जागरुक युवा क्लबले २०५७ सालमा स्थापना भई सामाजिक, खेलकुद र धार्मिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ।

क्लबले हनुमान पूजा, २०५८ सालदेखि महाशिवराजी पूजा, २०७१ सालदेखि गृहेश्वरी जात्रा तथा २०७१ सालदेखि विजया दशमीको अवसमार नव दुर्गा पूजा स्थानीय संघसंस्था तथा व्यक्तिहरुको सहयोगमा आयोजना गर्दै आइरहेको छ। यस वर्षको नव दुर्गापूजा छैठौँपटकको हो।