logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • प्रधानमन्त्रीले लगाए बहिनीहरुको हातबाट भाइटीका

    प्रधानमन्त्रीले लगाए बहिनीहरुको हातबाट भाइटीका

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बहिनीहरुबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्री ओलीले बहिनीहरु कौशिलादेवी कोइराला, विष्णुमाया ढकालका साथै देवका उप्रेती र इन्दिरा पराजुलीको हातबाट टीका ग्रहण गरेका हुन् ।

    मंगलबार दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीहरुको हातबाट टीका लगाए । टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे ।

    साथै उनीहरूले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए । प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे ।

    सो क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भाइटीकाको परम्परागत पक्षहरुले नेपाली समाजलाई सुमधुर सम्बन्धसहितको सुव्यवस्थित समाज र मानवीय तथा सामाजिक भावना भएको समाजको रुपमा स्थापित गर्न ठूलो योगदान गरेको बताए ।

    उनले चाडबाडको नाउँमा स्वास्थ्य, समाज, अर्थतन्त्रलाई हानी पुग्ने जुवातास, रमाइलाका नाउँमा गरिने नराम्रा क्रियाकलाप त्याग्नु पर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले त्यस्ता कुराहरु परम्परा नभएर विकृति भएको बताए ।

    भाइटीकाको अवसरमा प्रधानमन्त्रीले सबैमा सुस्वास्थ्य, समृद्धि र सफलताको शुभकामना पनि दिए ।



    निगरानी    
  • २०७६ कार्तिक १२, मंगलवार ११:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP