इलाम, २८ साउन :
पहिरोमा परि इलाममा एकको मृत्यु भएको छ । इलाम जिल्लाको रोङ गाउँपालिका–४ मानाबुङमा लेदो सहितको पहिरोमा परि अन्दाजी ६० वर्षीय विर बहादुर राई (कान कम सुन्ने,) मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो करिब १२बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका थिए। सोही समयमा नजिकैको खोल्सामा एक्कासि लेदो सहितको पहिरो खसेर उनलाई पुरेको जिल्ला प्रहरी कार्यलय इलामका डिएसपी मान बहादुर राईले बताउनु भएको छ । घटनास्थलमै राईको ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनाबारे जानकारी आजै दिउँसो १२:३० बजे प्रहरी चौकी किटेनीमा आएपछि तत्काल प्रहरी टोली खटिएको थियो। थप अनुसन्धान तथा कानूनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक छे फिन्जो भोटेको कमाण्डमा अर्को टोली पनि पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का कार्य सम्पन्न गर्दै मृतकको शव कानूनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउने तयारी गरेको जनाइएको छ ।
प्रतिक्रिया