इलामः नेपाल महिला संघ इलामको विहीबार इलाम सदरमुकाममा भएको भेलाले संघको रिक्त पदपुर्ती गर्दै संघको जिल्ला, क्षेत्र र पालिका समितिलाई पुर्णता दिएको छ ।
संघको २०६९ मा भएको तेस्रो जिल्ला अधिवेशन पछि जिल्ला अधिवेशन हुन सकेको छैन । अधिवेशनबाट निर्वाचित अध्यक्ष निर्मला सञ्जेलले राजीनाम दिएपछि रिक्त सभापतिमा बबीता लिङ्दमलाई पदपुर्ती गर्दै ६१ सदस्य जिल्ला कार्यसमिति गठन गरेको संघले जनाएको छ ।
भेलाले समितिको उपसभापतिमा सरस्वती तुम्बाहाम्फे र बसन्ती घतानी, सचिवमा मिरा खाकी र उषा देवि घिमिरे, कोषध्यक्षमा चन्द्रकला राई (बुढाथोकी) र सहसचिवमा सुशिला चौहानलाई चयन गरेको छ । भेलाले संघको विधान २०५८ को सांसोधीत व्यवस्था अनुसार समितिलाई पुर्णता दिएको सभापति लिङ्दमले जानकारी दिइन् । भेलाले यस अघिको समितिका सदस्यहरुलाई यथावत राखेको छ । लिङ्दमले विधानको व्यवस्था अनुसारनै समितिको पदपुर्ती गरेको बताइन् । उनले भनिन् ‘विधान अनुसार अघि बढ्न हामी दृण छौ, सोही अनुसार कृयाकलाप अघि बढाउने छौ ।’
भेलाले महिला संघको नाममा विभिन्न समिति गठन भएको भन्दै यस्ता गतिविधि रोक्न चेतावती दिएको छ । संघले विधान विपरितका गतिविधिमा संलग्न नहुने निर्णय समेत गरेको छ । भेलाले संघको इलाम क्षेत्र नम्बर १ को सभापतिमा पुनम गुरुङलाई पदपुर्ती गरेको छ । इलाम क्षेत्र न २ मा कमला बुढाथोकी रहेकी छन् ।
संघको इलाम नगरपालिका सभापतिमा रिना (घिमिरे) घले, सूर्योदय नगरपालिकामा हेममाया (रामु) प्रधान र सह सभापतिमा धर्मकला दहाल, देउमाई नगरपालिका सभापतिमा मिना दुतराज, माई नगरपालिकामा पुष्पा कार्की, सन्दकपुर गाउँपालिकामा भद्रिका बुर्जा, माईजोगमाईमा उषा देवि दहाल, रोङमा सावित्रा अर्याल, माङ्सेबुङमा तारा राई, फाकफोकथुममा अमृता नेपाली, चुलाचुलीमा राजकुमारी खड्कालाई सभापतिमा पुनःस्थापीत गरेको लिङ्दमले बताइन् ।
भेलाले नेपाल महिला संघकी पुर्व केन्द्रिय सदस्य विष्णु दहाल, विन्दा पराजुली, चन्दा कार्की, चन्द्रमाया लिम्बु, कोशी प्रदेश सांसद बन्दना अधिकारी र नेपाली काग्रेस कोशी प्रदेश समिति सदस्या हरिकला श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।
यसो भन्छन् महिला अगुवा
निक्कै लामो समय देखि निस्कृय जस्तै रहेको नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ इलामले पुर्णता पाएपछि महिला नेतृहरुले उत्साह व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेशकी सदस्य हरिकला (गौतम) श्रेष्ठले कुनै गुटको हित भन्दा माथी उठेर महिला संघको पुरानो समितिलाई व्युताएकोमा खुशी व्यक्त गरिन् । उनले भनिन् ‘कुनै गुटको नभइ समग्र कांग्रेसको हितको लागि यो हाम्रो अभियान हो । महिलालाई विभाजित गरेर राजनीति सम्भव छैन भन्ने सन्देश पनि हो यो ।’ उनले थपिन ‘इलामको निर्णयले बिधान अनुसार चल्न पार्टीलाई नैतिक दबाब मिल्ने पनि अपेक्षा गरेका छौ ।’ उनले भोली अधिवेशनमा कसैको पक्षमा नलागी काम गर्ने महिला नेतृत्वलाई सहयोग गर्ने कुरामा पनि भेलाको निर्णयले सहयोग गर्ने बताइन् । उनले भनिन् ‘अधिवेशन नभएको बखत सभापतिले राजिनाम दियो भन्दैमा सबै संरचनालाई विगार्न हुँदैन, भातृ संगठनलाई स्वतन्त्र भएर संगठनको हितमा काम गर्न दिनुपर्छ ।’
संघकी जिल्ला कोषाध्यक्ष चन्द्रकला राई (बुढाथोकी)ले संगठनको विधि कुल्चने अभ्यासले संगठनको हित नगर्ने बताइन् । उनले भनिन् ‘संगठनमा विधि स्थापनाका लागि हामीले काम शुरु गरेका छौ, सबैको साथ रहने कुरामा ढुक्क छु ।’
सघको इलाम नगरपालिका सभापति रिना (घिमिरे)घलेले संगठन विधि सम्मत चल्नु पर्ने बताईन् । उनले भनिन् ‘व्यक्तिको इच्छाले संगठन चलेर हुँदैन, यस्तो प्रकृया हामीलाई मान्य हुँदैन ।’
प्रतिक्रिया