इलाम , फागुन ९: इलाममा ‘ प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल प्रतियोगिता ‘ सञ्चालन हुने भएको छ । माईभ्याली फुटबल क्लबको आयोजनामा इलाम सदरमुकाम स्थित ठुलो टुडिखेलमा फागुन १० गतेदेखि प्रतियोगिता हुन लागेको हो ।प्रतियोगितामा इलामका ४ नगरपालिका र ६ गाउँपालिकाका गरि १० महिला फुटबल टिमको सहभागिता रहनेछ । खेल तालिका सार्वजनिक भइसकेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा देउमाई नगरपालिका र रोङ गाउँपालिका भिड्ने भएका छन् ।
छैटौं संस्करणसम्म अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिता संचालन गरेको माइभ्याली पुर्वी पहाडमा चर्चित क्लब हो । कोभिड महामारी पछि गोल्डकप संचालन हुन सकेको छैन । महिला फुटबल प्रतियोगिता पहिलोपटक संचालन गर्न लागेको माईभ्यालीले स्थानीय खेलाडी महिला उत्पादन गर्न पालिका स्तरीय प्रतियोगिता संचालन गरेको जनाएको छ । स्थानीय स्तरबाट खेलाडी उत्पादन गरि राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन सक्ने सक्षम खेलाडी तयार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक क्लब अध्यक्ष दिनेश काफ्लेले बताउनु भयो । भविष्यमा प्रदेश स्तर र राष्ट्रिय स्तरको महिला फुटबल संचालन गर्ने काफ्लेको भनाइ छ ।
प्रतियोगिता संचालनको लागि दर्शकबाट शुल्क उठाउने आयोजकले जनाएको छ । अन्य खेलमा ५० रुपैयाँ र फाइनलको दिन सय रुपैयाँ प्रवेश शुल्क तोकिएको भए पनि अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको जनाइएको छ । विद्यार्थीलाई आधा छुट दिइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया सहित ट्रफी प्राप्त गर्नेछ ।सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही नगद पुरस्कारको ब्यवस्था गरेको छ ।
प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ ।
प्रतिक्रिया