वर्षै पिच्छे मनसुनी समयकोबेला देशका पहाडी क्षेत्रमा पहिरो र तल्ला होचो तराई र भित्री मदेश क्षेत्रमा बाढी र डुवानले सताउने गर्छ । यो क्रम बढ्दो छ, सायद जलवायु परिवर्तनको असरले पनि नेपाललाई छुन थालीसकेको छ । बाढी, पहिरा,े डुवान, आगोलागी, शीतलहर जस्ता विपद्का कारणले वर्षेनी ठूलो संख्यामा मानिसहरुको हताहत हुनु सामान्य भैसकेको छ । तर, सामान्य राजनैतीक घट्नाले तात्ने हाम्रो देश,समाजले यता पट्टि ध्यान नै दिदैन ।
प्राकृतिक विपत्तिमा परेर सिंगै मानव वस्तीहरु पुरीदा,बग्दा कुरा उठ्नु पर्ने ठाउँ ब्यवस्थापीका संसदमा एकाध मसीना स्वर वाहेक केहि सुनीदैन, काम नपाएर रोकिएका प्रदेश सभामा यस विषयमा प्रवेश नै गरीदैन, किन यस्तो विपद्ले वर्षै पिच्छे धेरै नागरीकको ज्यान लीइरहेछ , छलफल गरीदैन, योजना निर्माण गर्न पहल गरीदैन, छानविनको आवाज उड्दैन ।
मैले यहाँ राजनैतिक आग्रह वा पुर्वाग्रहकालागि यो प्रसंग उठाएको हैन,मेरो यो लेख राजनैतिक प्रेरित पनि होइन, अव हामीले राज्यबाट धेरै अपेक्षा गर्नु भन्दा हामी सबै स्थानीय बासिन्दा,भद्र भलाद्मी,यूवा,विद्यार्थी,किसान,शिक्षक र विभिन्न पेशा व्यवसायमा लागेकाहरुले विपद् भनेको के हो,र विपद् व्यवस्थापनका बारेमा बुझ्न किन आवश्यक छ भनि ध्यान दिन जरुरी छ र स्थानीय विपद् जोखिम न्यूनीकरण तथा पूर्व तयारी योजना हरेक स्थानीय स्तरमा निर्माण गरी भविश्यमा हुन सक्ने दुर्घटनालाई कमगर्नका साथै क्षति न्यूनीकरण गर्ने तर्फ पहल गर्न जरुरी छ ।
बैज्ञानिकहरुका अनुसार नेपाल भौगर्भिक रुपले पृथ्वीमा पछि उत्पत्ति भएको क्षेत्रमा पर्दछ । पृथ्वी यस्तो आकारमा थिएन, एकै ढिक्का थियो । पृथ्वीको गर्भ भित्र हुने हलचलका कारणले पृथ्वी सर्दै,फुट्दै,टुट्दै,जोडिदै आजको यो अवस्थामा आईपुगेको हो भन्ने बैज्ञानिकहरुले पुष्टि गरीसकेका छन् । भलै समयकाबारेमा भने बैज्ञानिकहरुको मत भिन्नता होला, तर विषयबस्तुसँग एक मत छन बैज्ञानिकहरु । आजभन्दा चारसय पचास करोड बर्ष अगाडी नेपाल देश भएको स्थानमा महासागर थियो र दक्षीण तर्फको भूखण्ड विस्तारै उत्तर तर्फ सर्ने क्रममा उत्तर तर्फको ठूलो भूखण्ड जसलाई तिब्बेतियन भूखण्ड भनिन्छ, सँगको घर्षणका कारणले यस क्षेत्रको भूभाग माथि उठ्न गई हिमालय क्षेत्र उत्पत्ति भएको हो भन्ने बैज्ञानिक पुष्टि भैसकेको छ ।
यसरी हेर्दा नेपाल धेरै भूकम्प गइरहने क्षेत्रमा पर्दछ । भूकम्पको इतिहासलाई गहिरीएर हेर्ने हो भने नेपालमा हरेक ८० वर्ष देखि १०० वर्षको अन्तरालमा एउटा विनासकारी भूकम्प गएको देखिन्छ । नेपालमा बि.सं. १९९० मा विनासकारी भूकम्प गएको थियो र यसको बयासीवर्षपछि २०७२सालमा अर्को भूकम्प गएको हामीले अनुभव गरीसकेका छौं । विगतको एकहजार वर्षको इतिहासलाई विश्लेषण गरेर हेर्नेहो भने पनि यो पुष्टि हुन्छ ।
यसैगरी हाम्रो देशको ८५ प्रतिशत भूभाग हिमाली तथा पहाडी क्षेत्रले ओगटेको छ । माथि उल्लेख गरीए झैं यी भूभाग पूर्णरुपले कस्सिएर बसी सकेका छैनन्,कलिलै छन् । समयको परिवर्तन संगै जनसंख्याको पनि बृद्धिहुदै जाँदा विकास निर्माणको काम स्वभाविक रुपले बढ्दै जाँदैछ, पहाडि भिरालो भूभागमा पनि बाटो तथा अन्य निर्माणका काम भइरहेका छन। यस्ता निर्माणका कामले पनि भूस्खलन तथा पहिरो बढ्न मद्धत गरिरहेको छ भने अर्कोतिर विश्व उष्णिकरण्ले पनि हामीलाई सताउन थालीसकेको आभाष हुदैछ । एकै ठाउँमा छोटो समयावधिमा ठूलो वर्षा हुने,खण्ड वर्षा हुने,अना वृष्टि हुने क्रम बृद्धि भैरहेको पाइन्छ जसले गर्दा देशमा बाढी पहिरो पहिले भन्दा बढेको हो भन्ने प्रारभ्भिक अनुसन्धानले देखाउन थालेको छ। अझ आउने दिनहरुमा यो अवस्था बृद्धि हुने संकेत हाम्रा देशमा हुन सुरुगरेका बेमौसमी बाढी,पहिरोले संकेत गरिराखेका छन । साच्चै अब हामीले गाउँ शहर,तराई पहाड एकजुट भएर यस्तो प्रतिकुल परिस्थिति संग लड्नु पर्ने दिन आइसकेको छ । नत्रभने सबै पहाडका ग्रामीण इलाका सखाप भए भने तराइ र शहरी क्षेत्रमा बसोबास गर्नेहरुलाई पनि असर पर्दैन भनेर भन्न सकिदैन । अरुको घर लड्दैमा आफ्नोघर बलीयो छ भनी ठान्नु मुर्खता बाहेक अरु केहि हुदैन ।
यसको समाधानकालागि के गर्न सकिन्छ त ? हरेक सचेत नागरीकका मनमा प्रश्न उठ्नु स्वभाविक हो। हो,हामी धेरै गर्न सक्छौ । सर्वप्रथमतः हामीले विकासका नाममा हुने विनास रोक्न सक्नु पर्छ,सचेत हुनै पर्छ । विशेष गरेर पहाडि क्षेत्रमा हुने भौतिक विकासको मूलधारमा विपद् व्यवस्थापनलाई पनि समाहित गर्नु पर्छ । अब हामीले हाम्रा विभिन्न श्रोतबाट पहिलो पूर्वधारको रुपमा सोच्ने बाटो खन्ने काम मात्र सोच्नु हुदैन, बाटो खन्नेकाम सोच्ने वित्तिकै अव यसले भविश्यमा पु¥याउन सक्ने असर पनि हाम्रो दिमागमा आउने अवस्थाको सिर्जना हुनु पर्छ । क्षणीक लाभकालागि प्राकृतिक श्रोतको दोहन गरेर समाजमा बर्चश्व राख्न खोज्ने प्रबृत्तिको सदाकोलागि अन्त्य गर्न राज्य संयन्त्र संग सम्बद्ध निकाय,ब्यक्तिहरुले देखावटि मात्र नभै तन मनले निरुत्साहित पार्नु पर्छ अन्यथा भाषण , बोली एकथरी र भित्री रुपले हुने साँठगाँठले कालान्तरमा देशको भौतिक स्वरुप नै नरहने खत्रा बढीरहेको देखिन्छ । साच्चै भन्नेहोभने यस्ता प्राकृतिक विपद्ले बढी पिडित हुने भनेका ग्रामीण इलाकामा बस्ने गरिव जनता नै बढी देखिन्छन् । उनीहरु नीति निर्माण तह सम्म आफ्ना दुःख पु¥याउन सक्षम भैसकेको छैनन् । तर अब सबै ग्रामीण क्षेत्रमा बस्ने गरिव, किसानहरुले यस्ता विषयमा ध्यान दिनु पर्ने देखिन्छ र राज्यले इमान्दार पुर्वक सघाउनु पर्ने जरुरी छ । प्रत्येक गाउँपालीका तथानगपालीकाहरुमा विपद् व्यवस्थापन योजना निर्माण गर्न जरुरी छ । अझ भविश्यमा प्रत्येक वडास्तरको योजना निर्माण हुनु पर्दछ । यहाँनेर संझनायोग्य कुरा के छ भने हाल धेरै जिल्लाहरुमा जिल्लास्तरीय विपद् व्यवस्थापन तथा प्रतिकार्य योजना निर्माण भएका छन् तर यो एउटा गर्नै पर्ने कागजी प्रकृया भन्दा माथि उठ्न सकेको छैन,यसले विपद् घटाउन उति सहयोग गरेको छैन भने अर्को तर्फ एकपटक निर्माण भएका यस्ता योजना लामो समयसम्म थन्कीएर बस्नुबाहेक कार्यान्वयनमा आएको पाइदैन । तर साच्चै योजना निर्माण गर्ने र यसलाई कार्यान्वयनमा ल्याउने हो भने विपद्बाट धेरै हद सम्म क्षति कम गर्न मद्धत मिल्छ । जस्तो कि विपद् व्यवस्थापन योजना निर्माण गर्दा केहि कुरामा ध्यान दिन जरुरी छ । आफ्नो क्षेत्रमा भएका बस्तुस्थिति, विगतमा विपद्ले पारेका असरका बारेमा मात्र अध्यन गर्नेहोभने भविश्यमा आइपर्न सक्ने विपद्का बारेमा थोरै भए पनि अडकल गर्न सकिन्छ । तर यसलाइ साच्चै मनलगाएर गर्न भने जरुरी छ,राज्यको प्रत्यक्ष र सक्रिय सहभागिता आवश्यक्ता छ, किनभने आफु बसोबास गर्दै गरेको क्षेत्रकाबारेमा सबै भेला भएर छलफल गर्दा त विगतमा यहाँ यसरी बाढी अथवा पहिरो गएको थियो,अथवा यहाँ यस्तो भएको थियो भन्नेकुराहरु बाहिर आउन सक्छन् र यसको कारण पनि थाहा लाग्न सजिलो हुन्छ । जव समस्या पत्तालाग्छ समाधान पनि निस्कन सक्छ । साच्चै कुनै जमीन कमजोर नै रहेछ,समस्या ग्रस्त नै छ भन्ने पत्ता लाग्यो भने विभिन्न तर्क वितर्क गर्नु भन्दा सुरक्षीत स्थान तर्फ स्थानान्तरण गर्नु नै श्रेयस्करहो जसलाई राज्यले पनि सहयोग गर्नु पर्छ । विगत देखि नै समयको अन्तरालमा कुनै दुर्घटना दोहोरिरहेको छ भने अथवा भविश्यमा हुन सक्ने संकटको आभाष छ भने बेलैमा सतर्कता अपनाउन सकिन्छ । योजना भनेको यहि हो । राम्रा कागचमा लेखिएका राम्रा पुस्तक मात्र योजना हुन्छ भन्ने भ्रम त्याग्न जरुरी छ । यदि यस्ता योजना हरेक टोलमा निर्माण हुन सके भने नीति नियम निर्माण हुने निकाय सम्म आवाज विहिनहरुको आवाज वुलन्द हुन सहयोग पुग्ने छ ।
प्रतिक्रिया