स्वदेशी पुष्प उद्योग संरक्षणको सवालमा कडा आवाज
इलाम, असार २९ — भारतबाट आयात हुने फुलका कारण स्वदेशी पुष्प व्यवसाय संकटमा परेको भन्दै सूर्योदय नगरपालिकाका उपमेयर दुर्गा कुमार बरालले त्यसमा रोक लगाउन आवश्यक रहेको धारणा राखेका छन् ।
इलामको सूर्योदय नगरपालिका–८ शान्तिचोकको विश्व होटलमा नर्सरी व्यवसायी संघ नेपालद्वारा आयोजित दुई दिने नर्सरी व्यवस्थापन तालिमको आईतबार समापन गर्दै उपमेयर बरालले भने, “हामीले स्वदेशमै उत्पादन बढाउने हो भने आयातमा निर्भर हुनु पर्दैन । यसले स्थानीय व्यवसायीको उत्साह बढ्नेछ ।”
नेपालमा भारतीय सिमाना नजिक रहेका सहरहरूमा विवाह, पूजापाठ, तथा अन्य सांस्कृतिक समारोहमा प्रयोग हुने फुलको ठूलो हिस्सा भारतबाट आयात हुने गरेको छ । यसले नेपाली पुष्प किसान तथा व्यवसायीहरूलाई प्रतिस्पर्धा गर्न अप्ठेरो पारिरहेको छ ।
सीमित उत्पादन क्षेत्र, प्रविधिको अभाव र बजार पहुँचको समस्याको कारण नेपाली व्यवसायीहरुले भारतिय बजारसंंग प्रतिष्प्रिर्धा गर्न नसकेको संघका केन्द्रिय अध्यक्ष रामजी तिमल्सीनाले बताए ।
कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका ३० जना पुष्प तथा नर्सरी व्यवसायीलाई तालिममा फुलको रोग तथा किराको पहिचान र नियन्त्रण, फुल उत्पादनका प्रविधि, बजार व्यवस्थापन र व्यवसाय सञ्चालन सम्बन्धी विषयमा व्यवहारिक जानकारी प्रदान गरिएको संघका केन्द्रिय सचिव प्रविन्द्र महर्जनले बताए ।
पुष्प व्यवसायी संघ नेपालले आयोजना गरेको सो तालिममा संघका केन्द्रिय सदस्य श्याम सुन्दर प्रजापति, किरण खरेल र प्रशिक्षक शेष नारायण महर्जनले सहजिकरण गरेका थिए । संघले निःशुल्क तालिमको आयोजना गरेको हो । सहभागी व्यवसायीहरूले तालिमबाट आफ्नो व्यवसायमा सुधार ल्याउने महत्वपूर्ण ज्ञान र सीप पाएको प्रतिक्रिया दिएका छन् ।
पुष्प उत्पादक कृषकका लागि तालिम महत्वपुर्ण रहेको सूर्योदय नगरपालिका ८ का वडाध्यक्ष जंग बहादुर गुरुङ्गले बताए ।
उपमेयर बरालले यस्तो तालिम र कार्यक्रमहरूलाई अझ व्यापक बनाउँदै स्थानीय स्तरमै फूल उत्पादन र प्रशोधन केन्द्रहरू स्थापना गर्नुपर्नेमा जोड दिए । उनले सरकारी नीति, प्राविधिक सहयोग, र बजार सुनिश्चितताबिना स्वदेशी पुष्प व्यवसायको संरक्षण सम्भव नभएको औंल्याए ।
उपमेयर बरालको सुझावले नेपालमा पुष्प व्यवसायको संरक्षण र विकासका लागि अब स्पष्ट राजनीतिक इच्छा शक्ति र योजनाबद्ध कार्यान्वयनको आवश्यकता रहेको सन्देश दिएको छ । तालिम नयाँ व्यवसायी देखि पुराना पुष्प व्यवसायीका लागि समेत फलदायी बनेको संघकी इलाम अध्यक्ष लासाङ तामाङ्गले प्रतिकृया दिईन् ।
संघकी इलाम कोषध्यक्ष मुना भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सहभागिको तर्फबाट बोल्दै फाकफोकथुम गाउँपालिकका धर्मेन्द्र राई र सूर्योदय नगरपालिका ८ कि लिला इवाले तालिमले व्यवसायीक नर्सरी उद्यमका लागि सहयोग गरेको प्रतिकृया दिए ।
प्रतिक्रिया